राजनीति

रौतहटमा माधवकुमार नेपाल र प्रभु साह सेफ जोनमा

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा रौतहटबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र प्रभु साह सेफ जोनमा छन्।

नेपाल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन्। नेता नेपालको गृह नगर गौर नगरपालिका रहेको क्षेत्र रौतहटको क्षेत्र नम्बर १ हो। रौतहट क्षेत्र नम्बर १ मा पर्ने सबै पालिकाका प्रमुखहरु नेता नेपालसँगै  छन्।

गौर र राजदेवी नगरपालिका पूर्ण बहुमत सहित नेकपा एकीकृत समाजवादीले जितेको छ। यसै गरी यमनामाई गाउँपालिका नेकपा माओवादी र नेपाली काँग्रेसको पूर्ण वर्चस्वमा रहेको छ। माधव नारायण नगरपालिका र गढीमाई नगरपालिका पनि नेपाली काँग्रेसकै नेतृत्वमा रहेका छन्।

एमाले–जसपा गठबन्धनबाट उम्मेदवार रहेका अजयकुमार गुप्ता गत स्थानीय तहमा गौर नगरपालिकाको नगर प्रमुख पदमा लोसपाबाट पराजित उम्मेदवार हुन्। लोसपा नेता गुप्तालाई प्रभु साहले एमाले प्रवेश गराएका हुन् तर प्रभु साह आफैँले एमालेको टिकट परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका तथा गुप्ताका पूर्व सहयोगीहरु तितरबितर भएका कारण पूर्व प्रधानमन्त्री नेपाल निकै बलियो अवस्थामा देखिएका छन्।

यसैगरी रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह पनि सेफ जोनमा देखिएका छन्। साहका चिर प्रतिद्वन्द्वी नेपाली काँग्रेस रौतहटका सभापति जितेन्द्र यादव प्रदेश सभामा गएका तथा अर्का बलिया उम्मेदवार ठानिएका पूर्व राज्यमन्त्री गोविन्द चौधरीले गठबन्धनका कारण मनोनयन नै दिन नपाएपछि साह बलियो अवस्थामा रहेका छन्।

एमाले–जसपा गठबन्धनबाट आधिकारिक उम्मेदवार नरहेको र पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका धिरज पटेल उम्मेदवार बनेको भएपनि साह बलियो अवस्थामा रहेका छन्।

गत स्थानीय तहमा पटेलले साहलाई नै सहयोग गरेको अनुमान रहेको छ।

साहको निर्वाचन क्षेत्रमा दुई गठबन्धनमध्ये कुनैबाट पनि बलियो उम्मेदवार नहुँदा साह विरुद्ध कुनै चमत्कार नभए साह पूर्ण सेफ जोनमा देखिएका छन्।

रौतहट क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार पूर्वमन्त्री महम्मद आफताब आलमका छोरा डा. जैद राजा र स्वतन्त्र उम्मेदवार किरण साहबिच टक्कर हुने सम्भावना रहे पनि डा. जैद राजाको अवस्था बलियो देखिएको छ। यसै गरी रौतहट क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका निवर्तमान साँसद देवप्रसाद तिमल्सिना तथा नेकपा एमालेका उम्मेदवार उद्धव रेग्मीबिच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित: २५ आश्विन २०७९ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App