राजनीति

दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन्।

बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दसैँले नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्।

प्रकृतिको सुन्दर छटामुनि रहेका हामी नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको बताए।

उपराष्ट्रपति पुनले दसैँ, तिहार, नेपाल संवत् र छठजस्ता महत्वपूर्ण चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र  संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन्।

प्रकाशित: १९ आश्विन २०७९ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App