राजनीति

निर्वाचन खर्च नबुझाउने कारबाहीमा

भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन्।  

निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन्।  भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ। 

आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट रु ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट रु छ करोड ९९ लाख राजस्व सङ्कलन हुने देखिन्छ। एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन खर्च नबुझाएको कार्यालयले जनाएको छ।  

त्यस्तै नगरपालिका प्रमुख, उपप्रमुख उम्मेदवार बनेका पाँच जनाले पनि खर्च विवरण बुझाएका छैनन्।  नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारबाट २२ लाख ५० हजार र नगरका वडाध्यक्ष तथा अन्य सदस्यबाट तीन करोड ३९ लाख जरिवाना उठ्ने आयोगले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७९ १०:४१ मंगलबार

निर्वाचन