राजनीति

पूर्वप्रधानमन्त्री खनाल इलाम १ बाट उम्मेदवार सिफारिस

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवार सिफारिस भएका छन्। खनाल २०७४ सालको चुनाव जितेकै क्षेत्रबाट पुनः उम्मेदवार सिफारिस भएका हुन्।  

नेकपा (एस)को जिल्ला सचिवालय बैठकले केही दिनअघि उनको नाम सिफारिसको निर्णय गरेपनि मङ्गलबारमात्रै जिल्लाका सबै क्षेत्रका उम्मेदवार प्रदेशमा सिफारिस गरिएको पार्टी कार्यालय सचिव सोम शर्माले जानकारी दिए। ‘सचिवालयले गरेको निर्णयमा पुनः सबै नेताहरूको परामर्शमा सामान्य हेरफेर गरी उम्मेदवारको नाम सिफारिस गरिएको छ,’ शर्माले भने।  

२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का नेता खनाल नेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा यो क्षेत्रबाट निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७ मतान्तरले विजयी बनेका थिए। खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका भूपेन्द्र कट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो।  

सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह उनको निर्वाचन क्षेत्रमा पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एस)का रणबहादुर राई विजयी भएका छन्। माई नगरपालिकाको मेयर र माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने रोङ र सन्दकपुर गाउँपालिकाको अध्यक्ष काङ्ग्रेसले जितेको छ। नेकपा (एस)ले यो क्षेत्रमा खनालसहित डम्बरसिंह गदाल र सावित्रा गड्तौलाको नामसमेत आउँदो प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ।  

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उम्मेदवारमा रामचन्द्र पराजुली, पूर्णबहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरिएको छ। इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लामो समय अध्यापन गरी सेवानिवृत्त पराजुली कम्युनिस्टको भूमिगत आन्दोलनका सशक्त योद्धाका रूपमा चिनिन्छन्। उनी अहिले नेकपा (एस)को केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज हुन्।  

प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम क्षेत्र नं २ बाट एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए। नेम्बाङले ३६ हजार ५ सय १७ मत ल्याउँदा कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए। यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका र देउमाई नगरपालिका तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिकाको अध्यक्ष काङ्ग्रेसले जितेको छ भने देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ।  

प्रदेशसभातर्फ क्षेत्र १ (क) मा खिनु लङ्वा लिम्बू, राममाया राई, मुना राई, भक्त केसी, लालबहादुर सुब्बा र जितबहादुर राईको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ। २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित खिनु १ नम्बर प्रदेशको पर्यटनमन्त्री हुन्। क्षेत्र १ (ख) मा पनि ६ जनाकै नाम सिफारिस गरिएको छ। यो क्षेत्रबाट मुना राई, सूर्यवाला राई, टेकबहादुर राई, वृहस्पति खतिवडा, पूर्णप्रसाद ढुंगाना, तारा नेपाल र शम्भू दाहालको नाम सिफारिस गरिएको नेकपा (एस)ले जनाएको छ।  

प्रदेशतर्फ नै क्षेत्र २ (क) मा रामचन्द्र पराजुली, हरिवाला राई, सञ्जीव राई, कृष्ण गुरुङ र मुना शर्माको नाम सिफारिस भएको छ। क्षेत्र २ (ख) मा मिसन चाम्लिङ, सोमनाथ शर्मा, हर्क साँवा र मुना शर्माको नाम सिफारिस भएको कार्यालय सचिव शर्माले जानकारी दिए।

प्रकाशित: १५ भाद्र २०७९ ०५:२७ बुधबार

झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी)