कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी नेता गिरिको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीबाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गरेको छ। १३औं दिन केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गर्दै कांग्रेसले समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी नेताका रूपमा गिरिलाई स्मरण गरेको छ।
उनको जन्म पिता मित्रलाल र माता पुण्यप्रभाको कोखबाट २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिरहा जिल्लाको बस्तीपुरमा भएको कांग्रेसले जनाएको छ। समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेताका रूपमा कांग्रेसले गिरिलाई चित्रण गरेको छ। ‘राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्नुहुन्थ्यो,’ कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा छ, ‘नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हर्दम क्रियाशील रहनुभयो।’
नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित भएको समयमा बनारसबाट नेपाली कांग्रेसमा आबद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतविरुद्ध गिरिले निरन्तर संघर्ष गरेको विज्ञप्तिमा उल्लेख छ। ‘सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका प्रदीप गिरि पटकपटकका लोकतान्त्रिक आन्दोलनमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा जेल र निर्वासनमा रहनुभयो,’ कांग्रेसले भनेको छ। कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षीबीच पनि गिरि अत्यन्त लोकप्रिय रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘महान् दार्शनिक नेता गिरिको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिंगो संसदीय अभ्यास र मुलुकलाई ठुलो क्षति पुगेको छ।’
प्रकाशित: ६ भाद्र २०७९ ०१:३३ सोमबार