राजनीति

माओवादीद्वारा नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणा पत्र समिति गठन

नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चुनावी घोषणा पत्र समिति गठन गरेको छ। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणा पत्र मस्यौंदा समिति समेत बनाएको हो।

जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्। गठबन्धनको तर्फबाट पनि साझा चुनावी घोषणा पत्र आउने र पार्टीको तर्फबाट पनि घोषणा पत्र ल्याउने गरी सो समिति बनाइएको उपाध्यक्ष महराले बताए।

माओवादी केन्द्रले चुनावलाई लक्षित गरी प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ। जस अनुसार भाद्र ८ गते मधेश प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ। ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश १, ११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावीलाई लक्षित गरी बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ। बैठकले पार्टीमा आवद्ध विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय समेत गरेको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७९ १३:०१ शनिबार

नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पार्टीको स्थायी समिति बैठक