राजनीति

माओवादीले टुंग्याउन सकेन पदाधिकारी,अर्को बैठक भोलि बस्ने

फाइल तस्बिर

पदाधिकारी टुंगो लगाउन बसेको माओवादी केन्द्रको बैठक बिना निष्कर्ष सकिएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी चयन र आगामी निर्वाचनको बिषयमा छलफल भएको थियो। बिहीबारसम्म टुंग्याउने भनिएको पदाधिकारी शुक्रबारको बैठकले पनि चयन गर्न सकेन।

अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा आकांक्षीहरु धेरै देखिएपछि अध्यक्ष प्रचण्ड दबावमा छ। महासचिवमा देव गुरुङको प्रबल सम्भावना छ तर जनार्दन शर्मा र वर्षमान पुन पनि बलियो दाबेदार हुन्। आजको बैठक आगामी प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

महराले भने, ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ। भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ। पदाधिकारीका विषयमा पनि करिब करिब टुंगिएको स्थिति छ। अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलि सम्मका लागि सरेको हो।’ उनले बैठक भोलि पुन: १ बजे बस्ने उनले बताए। 

प्रकाशित: ३ भाद्र २०७९ ०५:५५ शुक्रबार

माओवादी केन्द्रको बैठक