राजनीति

झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

जिसस निर्वाचनमा एमाले र नेकपा (एस)बीच तालमेल, कांग्रेस एक्लै भिड्दै, जसपाले उम्मेदवारी दिएन

इलाम जिल्ला समन्वय समितिका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउँदै उम्मेदवारहरू। तस्बिर: भीम/नागरिक

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।  

जिसस नेतृत्वको उम्मेदवारी मनोनयन दर्ता गराउँदा सत्ता गठबन्धन फुटेर नेपाली कांग्रेस एक्लै भएको छ भने नेकपा (एस)ले नेकपा (एमाले)सँग तालमेल गरेको छ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (आइतबार)का लागि उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको थियो। एमाले र नेकपा (एस)ले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने कांग्रेसले एक्लै मनोनयन गरेको छ। तर, कांग्रेसले ९ मध्ये ७ पदमा मात्र उम्मेदवारी दिएको छ। माङ्सेबुङ गाउँपालिकाको उपाध्यक्ष जितेको जनता समाजवादी पार्टीले चाहिँ जिससको कुनै पनि पदमा उम्मेदवारी दिएन।  

एमाले र नेकपा (एस)को गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र नेकपा (एस)ले उपप्रमुख तथा २ सदस्यमा उम्मेदवारी दिएको छ। जिसस प्रमुखमा एमालेका जयप्रकाश राई उम्मेदवार बनेका छन्। उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली उम्मेदवार छिन्।  

महिला सदस्यमा एमालेबाट मीनाकुमारी राई, सीता कार्की तथा खुला सदस्यमा एमालेकै प्रेमराज गुरुङ, शेरबहादुर खालिङ र रामप्रसाद लिम्बूले उम्मेदवारी दिएका छन्। नेकपा (एस)बाट महिला सदस्यमा सपनादेवी राई र दलित वा अल्पसंख्यक सदस्यमा तृष्णा लोहारको उम्मेदवारी परेको छ।  

कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्यले उम्मेदवारी दिएका छन्। उपप्रमुखमा कमला अधिकारी बराल, महिला सदस्यहरूमा रीना राई र ख्यामकुमारी घले, दलित वा अल्पसंख्यक सदस्यमा पार्वती विश्वकर्मा, खुला सदस्यमा विष्णुप्रसाद भट्टराई र राजकुमार लिम्बूले उम्मेदवारी दिएका छन्।  

जसपाका नेता विनोद नेम्बाङले आफ्नो दलले जिससमा उम्मेदवारी नदिएको बताए। ‘वैशाख ३० को निर्वाचनमा पनि अरू दलले सम्मानजनक ठाउँ नदिएपछि हामी सत्ता गठबन्धनमा थिएनौं,’ उनले भने, ‘केही स्थानीय तहमा कार्यपालिका गठन गर्दा एमालेसँग तालमेल भएर सफल पनि भयौं। जिससमा चाहिँ हाम्रा उम्मेदवार नै नभएकाले उम्मेदवारी नदिएका हौं।’ उनले एमालेसँग सम्बन्ध राम्रो रहेको भन्दै जिससमा एमालेलाई नै समर्थन गर्ने संकेत गरे। ‘एमालेले हामीलाई जिससमा पनि ठाउँ त दिएको हो तर हाम्रै दलमा उम्मेदवार नभएर मनोनयन नगरेका हौं, अहिले पनि एमालेसँग सम्बन्ध राम्रो छ,’ उनले भने।

जिल्लाका १० स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २० जना जिससको उम्मेदवारका मतदाता हुन्। २० जनामध्ये एमाले–नेकपा (एस) गठबन्धनतर्फ १२ मतदाता छन् भने कांग्रेसतर्फ ७ जना छन्। जसपाका १ जना छन्। यसअघि पनि सूर्याेदय नगरको कार्यपालिका गठनमा एमाले र नेकपा (एस)को गठबन्धन बनेको थियो। गठबन्धनका सबै उम्मेदवारले कार्यपालिकामा विजय हासिल गरेका थिए। 

प्रकाशित: २९ जेष्ठ २०७९ ११:४५ आइतबार