राजनीति

इलाममा एमाले विभाजनको असर: यस्तो बन्दैछ झलनाथ खनाल र सुवास नेम्बाङको क्षेत्र

झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ। तस्बिर: भीम/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनले इलामका दुई ‘हेभिवेट’ नेता र उनीहरूको निर्वाचन क्षेत्रमा आ–आफ्नो दललाई प्रत्यक्ष असर पुर्‍याएको देखिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एक–अर्कामा आफ्नो ‘पकड’ गुमाएका छन्।

एमाले एक हुँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका १० पालिकामध्ये ७ वटाको प्रमुख र ९ को उपप्रमुख जितेको थियो। बाँकी ३ वटाको प्रमुख र एउटाको उपप्रमुख कांग्रेसले जितेको थियो। यसपटक ८ पालिकाको गणना सकिँदा ४ मा कांग्रेस र ४ मा एमालेले बाजी मारेका छन्। गणना गर्न बाँकी २ पालिकामध्ये एउटामा एमाले र एउटामा नेकपा (एस)का उम्मेदवारको अग्रता छ।

खनालको निर्वाचन क्षेत्र (इलाम १) मा पर्ने माइजोगमाई गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार नेकपा (एस)का जितबहादुर राई पराजित भए। राई यसअघिको गाउँपालिका अध्यक्षसमेत हुन्। नेपाली कांगे्रस र माओवादीसमेतको समर्थन रहेका राईलाई एमालेका कुशबहादुर थेबेले पराजित गरे। उपाध्यक्षमा कांग्रेसकी प्रविना राई विजयी भइन्। ६ वटा वडा रहेको माइजोगमाईका ३ वटा वडामा पनि एमालेकै प्यानल विजयी भएका छन्। २ वटा वडा कांग्रेसले जितेको छ।

खनालकै निर्वाचन क्षेत्रमा पर्ने माई नगरपालिकामा एमालेकै मेयर–उपमेयर विजयी भए। गठबन्धनका मेयर उम्मेदवार नेकपा (माओवादी केन्द्र) का धनबहादुर लिम्बूलाई पराजित गरी एमाले उम्मेदवार खम्बासिंह लिम्बू विजयी बने। उपमेयरमा गठबन्धनका कांग्रेस उम्मेदवार हेमबहादुर लिम्बूलाई पराजित गर्दै एमालेकी हिमा भण्डारी विजयी बनिन्। १० वटा वडा रहेको माई नगरका ७ वटा वडामा एमालेले कब्जा जमायो। ३ वटा वडा कांग्रेसले जितेको छ।

सन्दकपुर गाउँपालिका पनि खनालकै निर्वाचन क्षेत्रमा पर्छ। सन्दकपुरको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार तुलाराम गुरुङ निर्वाचित भए। सन्दकपुरको उपाध्यक्षमा भने नेकपा (एस)का हरि लुंगेली विजयी बनेका छन्। सन्दकपुरका ५ वटा वडामध्ये नेकपा (एस)ले एउटा वडामा अध्यक्ष जितेको छ। बाँकी २ वटा वडा एमाले र २ वटा कांग्रेसले जितेका छन्।

खनालकै निर्वाचन क्षेत्रको मुख्य स्थानीय तह मानिने सूर्याेदय नगरपालिकाको मतगणना सकिएको छैन। १४ वटा वडा रहेको सूर्याेदयका ९ वटा वडाको गणना सकिएर १० नम्बर वडा गणना भइरहेको छ। अहिलेसम्म यहाँको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एस)का उम्मेदवार रणबहादुर राई एमालेका उम्मेदवारभन्दा फराकिलो मतान्तरले अघि छन्। प्रदेश सांसदबाट राजीनामा दिएर एमालेबाट मेयरको टिकट पाएका काजीमान कागतेलाई यसअघिसमेत मेयर रहेका राईले साढे ९ सय हाराहारी मतान्तरले पछि पारिरहेका छन्। वडा ११, १२, १३ र १४ को मतगणना गर्न बाँकी नै छ।

सूर्याेदयको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार दुुर्गाकुमार बराल अझ फराकिलो मतान्तरले एमाले उम्मेदवारभन्दा अघि छन्। बरालले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई करिब २ हजार मतान्तरले पछि पारिरहेका छन्। बराल २०७४ सालको प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र १ को ‘ख’बाट कागतेसँगै पराजित बनेका थिए। भट्टराई यसअघि सूर्योदयको उपमेयर हुन्। अहिलेसम्मको गणनामा सूर्याेदयका ३ वटा वडामा नेकपा (एस)ले वडाध्यक्ष जितेको छ। ५ वटामा कांग्रेस र एउटामा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

खनालको क्षेत्रकै रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको थियो। यसपटक रोङको अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका मनीकुमार लिम्बू विजयी भएका छन्। एमालेका मेहेरमान तामाङ पराजित भए। उपाध्यक्ष भने एमालेले फर्काउन सफल भएको छ। गठबन्धनका उम्मेदवारलाई पराजित गरी एमालेकी विष्णुमाया भुजेल उपाध्यक्षमा निर्वाचित भएकी छिन्। रोङका ३ वटा वडामा कांग्रेसले, २ वटामा एमाले र एउटा वडाको वडाध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन्।

उपाध्यक्ष नेम्बाङ र एमालेलाई भने जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका गुमाउँदा सबैभन्दा ठूलो ‘धक्का’ लागेको छ। इलाम नगरको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार केदार थापा र उपमेयरमा पनि कांग्रेसकै विष्णुकुमारी लिम्बू दाहालले बाजी मारेका छन्। २०४९ सालमा कांग्रेसका केशव थापाले इलाम नगरको मेयर जितेका थिए। २०५४ साल र २०७४ सालमा भने एमालेका महेश बस्नेत इलामको मेयर थिए। यसपपटक गठबन्धनको बलमा कांग्रेसले ३० अघिको इतिहास फर्काएको छ। एमालेका धीरेन चेम्जोङ मेयरमा र एमालेकै सीता रिजाल उपमेयरमा पराजित भएका छन्। नगरका १२ वटा वडामध्ये एमालेले ३ वडाध्यक्ष जितेको छ। बाँकी ९ वटा वडाको वडाध्यक्ष कांग्रेसले जितेको छ। यसअघि एमालेले इलाम नगरका ६ वटा वडासहित मेयर–उपमेयर जितेको थियो।

नेम्बाङले आफ्नै क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिकाको नेतृत्व पनि यसपटक गुमाएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका राजेन्द्र केरुङले चुलाचुलीको अध्यक्ष जितेका छन्। उपाध्यक्षमा भने एमालेकै दिलकुमारी लावती विजयी भएकी छिन्। यसअघि अध्यक्ष–उपाध्यक्ष दुवै एमालेका थिए। ६ वटा वडामध्ये यसपटक चुलाचुलीका ५ वटा वडामा कांग्रेस र एउटामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष जितेका छन्।

नेम्बाङकै क्षेत्रमा पर्ने माङ्सेबुङ गाउँपालिकामा भने यसपटक एमालेले नेतृत्व उल्ट्याएर आफ्नो बनाएको छ। माङ्सेबुङको अध्यक्षमा गठबन्धनलाई पराजित गरी एमालेका हेमन्त राई निर्वाचित भए। राईले यसअघिका गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोलाई पराजित गरे। एमालेले उपाध्यक्ष भने गुमाएको छ। उपाध्यक्षमा गठबन्धनबाट जनता समाजवादी पार्टीका विनोद नेम्बाङ विजयी भएका छन्। उनले यसअघिकी गाउँपालिका उपाध्यक्षसमेत रहेकी एमाले उम्मेदवार सुनिता सुब्बालाई पराजित गरे।

नेम्बाङकै क्षेत्रको देउमाई नगरको मेयर–उपमेयर भने एमालेले नै दोहो¥याएको छ। यसअघिका मेयर सूर्य पोख्रेल र उपमेयर पविमाया राई गठबन्धन उम्मेदवारलाई पराजित गरी विजयी बनेका छन्। मेयरमा कांग्रेसका होम दुलाल र उपमेयरमा माओवादीका राम राई पराजित भए। दुलाल ०७४ सालमा पनि पोख्रेलसँगै मेयरमा पराजित थिए भने राम पनि त्यतिबेला मेयरमै हारेका थिए। देउमाईका ५ वटा वडामा एमाले र ४ वटामा कांग्रेसले वडाध्यक्ष जितेका छन्।

नेम्बाङकै क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकामा भने मतगणना जारी छ। ०७४ सालको निर्वाचनमा फाकफोकथुमको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेका थिए। यसपटक गणना जारी रहँदा अध्यक्ष–उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेका छन्। ७ वटा वडा रहेको फाकफोकथुमका ५ वटाको गणना सकिएको छ। अहिलेसम्म कांग्रेसले ३ र एमालेले २ वटा वडा जितेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:५९ बिहीबार