राजनीति

किराँत धर्मगुरुको बसोबास रहेको वडामा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी

इलामको माङ्सेबुङ गाउँपालिका ५ मा राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा)को प्यानल नै विजयी भएको छ। यो वडा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको वडा हो।  

यो वडामा अन्य दलले उम्मेदवारी दिएका छैनन्। वडाध्यक्षमा यसअघिकै वडाध्यक्ष नरेन्द्रकुमार राई ८ सय ३७ मत ल्याएर विजयी भए। त्यही पदका स्वतन्त्र उम्मेदवार सुवदल सेलिङले २ सय २८ मत ल्याएका छन्। महिला वडा सदस्यमा तिलरूपा सवेहाङ यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्। वडा सदस्यमा वीरबहादुर कुरुम्बाङ (८१२) र सुरेन्द्र तुम्बाहाम्फे  (७१७) विजयी भए। दलित महिला सदस्यमा गंगामाया विश्वकर्मा (८६३) विजयी बनिन्।  

जिल्लाका ८१ वडामध्ये २०७४ सालको स्थानीय तह निर्वाचनमा राजमुपाले यही वडामा प्यानल नै जितेको थियो। यो वडामा गाउँपालिकाको अध्यक्षका उम्मेदवार डिकेन्द्र इदिंगोले ७ सय ९२ मत ल्याएका छन्। उनी गठबन्धनका उम्मेदवार हुन्। अध्यक्षका एमाले उम्मेदवार हेमन्त राईले यो वडामा १ सय ८३ मत ल्याएका छन्।  

निर्वाचनभन्दा केही महिनाअघि इलामस्थित काङ्ग्रेसले धर्मगुरु लिङदेनलाई सम्मान गरेको थियो। संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्रमा पर्ने यो वडामा निर्वाचनको मुुखैमा एमाले अध्यक्ष ओली र नेम्बाङले समेत धर्मगुरुसँग ‘दर्शन–भेट’ गरेका थिए।  

 

 

 

प्रकाशित: ३१ वैशाख २०७९ ११:५८ शनिबार