राजनीति

लोकतन्त्र संस्थागत गर्न स्थानीय निर्वाचन महत्वपूर्ण: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता झलनाथ खनालले कलिलो अवस्थामा रहेको लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न दोस्रो स्थानीय तह निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। उनले यही निर्वाचनमार्फत् लोकतन्त्र, गणतन्त्रको रक्षा गर्दै देश विस्तारै समाजवादको यात्रामा अघि बढ्ने बताए।

गृहजिल्ला इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले स्थानीय सरकारले पूर्वाधारदेखि नागरिकका सबैखाले समस्या समाधानमा सघाउने बताए। 

‘कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता नागरिकका आधारभूत कुराहरूमा स्थानीय सरकार निकै प्रभावकारी बन्नसक्छ,’ उनले भने, ‘पहिलो स्थानीय तह निर्वाचनमा नेतृत्वका कारण लोकतन्त्र र गणतन्त्र नै खतरामा थियो, दोस्रो निर्वाचनपछि आउने नेतृत्वले संविधान र देशको रक्षा गर्छ भन्ने विश्वास लिएको छु।’

प्रकाशित: ३० वैशाख २०७९ ०५:३१ शुक्रबार