राजनीति

स्थानीय तह निर्वाचन: भोट माग्ने माध्यम सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा मतदातालाई मत माग्दै इलामको सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार तुलसादेवी सेढाईं ढकाल।

सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार उदयबहादुर राई, विभिन्न वडाका उम्मेदवार र नेकपा (एमाले)का नेता–कार्यकर्ता अहिले भोट माग्न सामूहिक रूपमा मतदाताको घर–घर पुगिरहेका छन्। नेपाली काङ्ग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायत आबद्ध उम्मेदवारको गठबन्धनका उम्मेदवार पनि भोट माग्दै संयुक्त रूपमा मतदाताको दैलो चहारिरहेका छन्।  

तर, यही गाउँपालिकामा एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी तुलसादेवी सेढाईं ढकाल भने गाउँमा कतै देखिन्नन्। औपचारिक, अनौपचारिक कुनै पनि बैठक, भेला, सभामा ढकाल नदेखिँदा मतदाताको चासो बढेको छ। उनी व्यक्तिगत वा सामूहिक रूपमा मतदाताको घर–घर पुग्न सकेकी छैनन्।  

मतदाताको घर–टोल पुग्दा अध्यक्षका उम्मेदवार राईसहितको टोलीलाई पार्टीका स्थानीय कार्यकर्ता र मतदाताको एउटै प्रश्न बारम्बार दोहोरिने गरेको छ, उपाध्यक्षकी उम्मेदवार चाहिँ कता हुनुहुन्छ? किन यो टोलीमा आउनुभएन?  उनै तुलसादेवी अहिले सामाजिक सञ्जालमार्फत् मतदातालाई भोट मागिरहेकी छिन्। बिहानदेखि बेलुकासम्मको धेरै समय उनको मोबाइल फोनमा कुरा गर्दैमा बितिरहेको छ। आफ्ना ससुराबुवाको निधन भएपछि तुलसादेवीले निर्वाचनको मुखैमा मतदातालाई भेट्न नपाएकी हुन्। काजकिरियामा बसेरै उनी मतदातालाई फेसबुक म्यासेन्जर र फोनमार्फत् भोट माग्दैछिन्। उनले गाउँपालिकाका मतदातालाई आफू काजकिरियामा बसेको जानकारी दिएकी छिन्। र, आफू घर–घर आउन नपाएपनि आफूलाई मतदान गरेर जिताउन आग्रह गरेकी छिन्।  

तुलसाले वैशाख ११ मा उपाध्यक्ष पदमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराइन्। पर्सिपल्ट वैशाख १३ मा उनका सुसुराबुबा ८६ वर्षे टुकनाथ ढकालको निधन भयो। त्यसयता काजकिरियामा बस्नुपर्ने भएपछि उनी मतदाताकहाँ पुग्न नसकेकी हुन्। उनी घरमै आएका आफन्त, छिमेकीलाई आफूलाई जिताउन आग्रह गरिरहेकी छिन्। ‘फेसबुक, मोबाइल फोनलगायतमार्फत् पनि मतदातासँग मत मागिरहेकी छु,’ उनले भनिन्, ‘अहिले मेरा लागि मतदातालाई भेट्ने सबैभन्दा व्यापक माध्यम चाहिँ सामाजिक सञ्जाल भएको छ। यसअघि पनि जनप्रतिनिधि भएकाले गाउँपालिकामा मलाई धेरैले चिन्नु पनि हुन्छ। तैपनि, सकेसम्म धेरैलाई फोन गर्दैछु।’  यसअघि उनी सन्दकपुर वडा ३ को महिला सदस्य थिइन्।

तुलसाका ससुराबुबाको १३औँ दिनको पुण्यतिथि वैशाख २५ मा सकिने छ। त्यसपछि उनले मतदातालाई भेट्ने समय जम्मा २ दिन बाँकी छ। ‘तर, मलाई मतदाताले विश्वास गरेर मत दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ,’ उनले आशा व्यक्त गरिन्।  

गठबन्धनको तर्फबाट सन्दकपुर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (एस)का हरि लुंगेली उम्मेदवार छन्। तुलसा र हरि एउटै वडाका छिमेकी पनि हुन्।

प्रकाशित: १९ वैशाख २०७९ ११:५४ सोमबार

स्थानीय तह निर्वाचन: सामाजिक सञ्जाल भोट माग्ने भर