राजनीति

एमाले धनगढी उपमहानगरपालिकाको घोषणा पत्र सार्वजनिक

सुत्केरीलाई निशुल्क ऐम्बुलेन्स र जेष्ठ नगारिकलाई घरमै उपचार

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा एमालेले १६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। सुत्केरी महिलालाई निशुल्क ऐम्बुलेन्स सेवा र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार उपलब्ध गराउने घोषणा गरेको छ। 

अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयमा जितेपछि सुन्दर र समृद्ध धनगढी बनाउन लागु गर्ने योजना र काम सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो।

प्रत्येक वडामा नमुना प्राविधिक विद्यालय स्थापना गर्ने, संचालनमा रहेका प्राविधिक विद्यालयको स्तरोन्नती गर्ने, सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, माध्यमिक बिद्यालयसम्मको शिक्षा निशुल्क गर्ने उनीहरुले घोषणा गरेका छन्।

निरोगी नेपाल,स्वस्थ नेपाली भन्ने नाराका साथ हाल वडामा रहेका नगर स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरि १५ शैयाको अस्पताल संचालन गरिने भनिएको छ। प्रत्येक सुत्केरी आमालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने र जेष्ठ नागरिकलाई घरमै निशुल्क स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिक नगर स्वास्थ्य स्वास्थ्य सेवा घुम्ती सेवा संचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

गरिबिको रेखामुनी रेहका नागरिकलाई ५० प्रतिशत अनुदान प्रदान गरिने, विद्यालयमा योग शिक्षा लागु गरिने, प्रत्येक वडामा योग शिविर संचालन गरिने, संघिय तथा प्रादेशिक सरकारसँग समन्वय गरि ट्रमा सेन्टर सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने घोषणा गरेका छन्। नगरपालिकाभित्र सबै घरमा शुद्ध खानेपानी धाराको व्यवस्था गरिने, सार्वजनिक स्थलमा सार्वजनिक खानेपानीका धारा र शौचालयको व्यवस्था गरिने उल्लेख छ।

कृषक परिचय पत्र वितरण गरिने, परिचय पत्रका आधारमा कृषकलाई मल, विउ लगायतका कृषी सम्बन्धी सुविधा र अनुदान प्रदान गरिने, प्राविधिक जनशक्ती उपलब्ध गराउने, नगरभित्रका सबै सडक कालोपत्रे गरिने, मुख्य सडकको वरिपरी वृक्षारोपण गरेर हराभरा धनगढी बनाउने, प्रत्येक घरमा विद्युतीकरण गर्ने, विद्युतिय चुल्हो र वैकल्पिक उर्जालाई प्रोत्साहन गरिने, विपन्न घरमा निशुल्क विद्युत जडान गरिने घोषणा गरिएको छ।

औद्योगिक ग्रामको स्थापना, एक गाउँ एक उत्पादन,एक घर, एक सिप, महिलाको शिक्षा, स्वास्थ्य, समाजिक सुरक्षा सम्बन्धी कार्यक्रम संचालन गरिने, महिला, दलित तथा सिमान्तकृत समुदायलाई उद्यमशिलता कार्यक्रम अन्तर्गत हरेक वडामा तालिम प्रदान, अनुदान, प्रविधि, बिउ पुँजी उपलब्ध गराउने घोषणा गरिएको छ।

समाजिक सुरक्षा भत्ता बिपन्न बर्गलाई घरमै पुर्याउने, मानसिक असन्तुलन, असाहय बालबालिका, सडक बालबालिकाका लागि पुनस्थार्पना केन्द्रको स्थापना गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ। प्रत्येक वडामा ५ वर्षभित्र खेलमैदान निर्माण गर्ने, भूमीहीन, सुकम्वासीलाई संघिय र प्रदेश सरकारसँग समन्वय गरि जग्गा उपलब्ध गराउने र आवास निर्माण गर्ने घोषणा गरिएको छ।

धनगढी अवस्थित बेहडाबावा, शिवपुरी धाम लगायतका धार्मिकस्थलको पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्धनमा जोड दिने, धनगढी भित्रका राना, थारु समुदायको भाषा, संस्कृती, कलाको संरक्षण गरिने, धनगढी भित्र उपयुक्त क्षेत्रको पहिचान गरि प्राकृतिक चिडिया घरको रुपमा विकास गर्ने, धनगढीमा हुने डुवान समस्याको अध्ययन गरि योजना निर्माण गरि लागु गर्ने, प्रत्येक विद्यालय र सार्वजनिक निकायका कार्यालयमा अनिवार्य वृक्षारोपण गरिने, नदीहरुको दायावाया वृक्षारोपण गरिने, नागरिकहरुलाई कानुनको ज्ञान र कानुनी उपचार वारे जानकारी दिने, विपन्न वर्गका लागी निशुल्क कानुनी सेवा केन्द्र संचालन गरिने, स्थानीय संचारमाध्यमको संस्थागत विकासमा प्राथमिकता दिइने, संचारकर्मीलाई लेखनवृतीको व्यवस्था गर्ने, केही क्षेत्रमा फ्रि वाईफाई जोनको विकास गर्ने, आधुनिक शवदाह गृह निर्माण गरिने, क्रियापुत्री घरहरु निर्माण गरिने घोषणा गरेका छन्। 

धनगढीलाई मेघासिटीको रुपमा विकास गर्दै संघिय र प्रदेश सरकार सँगको समन्वयमा धनगढीलाई प्रदेशकै पहिलो महानगरपालिको निर्माण गर्न पुर्वाधारमा जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ। धनगढी उपमहानगरपालिकामा एमालेका तर्फबाट मेयरमा युवा नेता रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना उम्मेदवार छन्। गठबन्धनका तर्फबाट मेयरमा नेपाली काग्रेसका नृप बहादुर वड र उपमेयरमा माओवादी केन्द्रका शान्ती अधिकारी चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा मेयरमा बिजयी वडलाई निकटत प्रतिद्वन्द्वी भएर कडा टक्कर दिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि चुनावी मैदानमा छन्। मेयरमा १० र उपमेयरमा ७ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १६ वैशाख २०७९ १२:११ शुक्रबार