राजनीति

स्थानीय तह निर्वाचन: एमाले जिल्ला सचिव गुरुङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने

नेकपा (एमाले) इलामका सचिव उमेश गुरुङ। तस्बिर: नागरिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षका लागि दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिनेबारे पार्टीमा सहमति भएको बताए।

‘मैले अलि हतारमा निर्णय गरेर पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएको रहेछु,’ उनले पत्रकारहरूसँग भने, ‘अब निर्वाचनको कार्यतालिकाअनुसार समय (वैशाख १६) भएपछि प्रक्रिया पुर्‍याएर मेरो उम्मेदवारी फिर्ता हुन्छ।’ उनले पार्टीका अग्रज र सहकर्मी नेता–कार्यकर्तासँगको छलफलमा आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए। 

अब पार्टीबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउन आफू लागिपर्ने उनको भनाइ छ। ‘पार्टीको निर्णयबमोजिम ज–जसले उम्मेदवारी दिनुभएको छ, उहाँहरूलाई जिताउने भूमिका अब निर्वाह गर्छु,’ उनले भने, ‘यसले हिजो बागी उम्मेदवारी दिएकाले आज पार्टीलाई सहयोग गर्दैन कि भन्ने शंका नगरिदिनुहोला, म पार्टीका उम्मेदवारलाई शतप्रतिशत सहयोग गर्छु।’  

सन्दकपुर गाउँपालिकामा एमालेले गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईलाई नै पुनः अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो। राईले उम्मेदवारी मनोनयन पनि गरेका छन्। तर, सचिव गुरुङले पनि अध्यक्षको उम्मेदवारी दिएका थिए।  

यस्तै, सत्ता गठबन्धनको निर्णयविपरीत माई नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का नेता भक्तबहादुर लुंगेलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।  

उनले बुधबार पार्टीसँग भएको छलफलमा उम्मेदवारी फिर्ता लिने सहमति भएको माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी संयोजक विजय राईले जानकारी दिए। गठबन्धनका पनि काङ्ग्रेस र माओवादीको चाहिँ साझा उम्मेदवारका रूपमा माई नगरको मेयरमा माओवादीका धनकुमार लिम्बूले उम्मेदवारी दिएका छन्। यो निर्णयविपरीत लुंगेलीले पनि मेयरमै उम्मेदवारी दर्ता गराएका थिए।  

सत्ता गठबन्धनभित्र माई नगरको मेयर–उपमेयरलगायतका पदमा सहमति भएको भनिएपनि मेयर पदमा चाहिँ नेकपा (एस) र जनता समाजवादी पार्टीले आ–आफ्ना उम्मेदवार उठाएका छन्।

प्रकाशित: १४ वैशाख २०७९ १२:०५ बुधबार