राजनीति

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी, मन्त्रीमण्डल फेरबदल गरियो

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। शुक्रबार प्रदेश सरकारको मन्त्रीमण्डल फेरबदल गरिएको छ।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका छन्।  

यसैगरी, नेकपा एकीकृत समाजवादीका प्रकाश रावल आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन्। नेकपा एकीकृत समाजवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र आर्थिक मामिला मन्त्री तारा लामा तामाङलाई सरकारबाट फिर्ता बोलाइएको थियो।  

उनीहरुले शुक्रबार नै मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका थिए। उनीहरुले दिएको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्रीमा नियुक्त गरिएको हो। यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरीलाई फिर्ता बोलाएर एकीकृत समाजवादीकै कुलविर चौधरीलाई नियुक्त गरिएको छ, भने अर्थ राज्यमन्त्रीमा समाजवादीका माया तामाङलाई फिर्ता बोलाएर समाजवादीकै अमर साउदलाई नियुक्त गरिएको छ।

समाजिक विकास राज्यमन्त्री नेकपा एकीकृत समाजवादीका मनाकुमारी साउँदलाई पनि फिर्ता बाेलाइएको छ। उनीहरुले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसले प्रदेश सरकारमा सहभागी नगराए सुदूरपश्चिम प्रदेशमा चुनावमा गठबन्धन नगर्ने अडान लिएको थियो। सत्तागठबन्धनमा नै असर पर्ने भएकाले शुक्रबार राति आचारसंहिता लागु हुनु अघि नै हतार हतारमा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो।

प्रदेश सरकारमा मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री गरि ४ माओवादी केन्द्रका छन्। भने यस अघि ४ मन्त्री र ३ राज्यमन्त्री नेकपा एकीकृत समाजवादीका तर्फवाट मन्त्रीमण्डलमा थिए। अब एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेस ३ जना मन्त्रीमण्डलमा सहभागी भएका छन्।  

प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनियताको सपथ खुवाएका थिए। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल फेरबदल भएको यो चौथो पटक हो।

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेस १२, नेकपा एमाले ११ सासंद रहेका छन्। जसपा र लोसपाका १, १ सांसद छन्।

प्रकाशित: २५ चैत्र २०७८ १४:५७ शुक्रबार

मन्त्रीमण्डल फेरबदल