राजनीति

'निर्वाचनमा आचारसंहिताको पालना कडाईका साथ लागु गरिन्छ'

‘आचारसंहिता लागु हुनेमा आशंका’

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीमा सरोकारवालासँग गरिएको एक अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि जारी गरिएको आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन हुनेमा जोड दिए। विगतका निर्वाचनका बेलाको जस्तो आचारसंहिता पालनामा त्रुटि यस पटक नहुने उनको भनाई थियो। ‘विगतमा भएका त्रुटीबाट पाठ सिक्दै हामीले आचार संहितामा पनि कसले के पालना गर्ने भनेर स्पष्ट बनाएका छौं, आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराईने छ,’ उनले भने।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सदस्य, राजनीतिक दलका नेता, न्यायाधीश, कानुन व्यवसायी, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायत सरोकारवालाको उल्लेख्य सहभागिता रहेको समारोहमा अध्यक्षता ग्रहण गरेका प्रमुख आयुक्त थपलियाले कार्यक्रमको शुरुवातमै बोल्दै निर्वाचन आचारसंहिता कार्यान्वयन हुनेमा विश्वास दिलाउने कोशिस गरेका थिए। ‘आचारसंहिता नैतिक बन्धन मात्र नभएर कानुनी दस्तावेज पनि हो, आचारसंहिता उल्लंघन हुनेलाई उम्मेदवारी खारेजी सम्मको कारवाही गर्न सकिने छ,’ उनले भने।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गरिने उनको भनाई थियो। आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने र भूमिका निभाउनु पर्ने उनले बताए।

आचारसंहिता कार्यान्वयन हुनेमा सबैको आशंका

निर्वाचन आयोगमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गरिने जोड दिएपनि प्रदेशका सरकारका मन्त्री, राजनीतिक दलका नेता, सांसद र सहभागीहरुले भने विगतमा जस्तै निर्वाचन आचारसंहिता लागु हुनेमा शंका व्यक्त गरे। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा समेत शंका जनाए। कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी रहेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन प्रणालीमा समस्या रहेको बताए। ‘निर्वाचन आयोगले पनि आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारवाही गरेको देखिएन, अहिले सम्म कसैको उम्मेदवारी दर्ता खारेज पनि भएन,’ उनले भने, ‘आचारसंहिता कार्यान्वयनमा विगतका त्रुटी र शंका दोहोरिनदिनु हुँदैन।’

आचारसंहिता कार्यान्वयनका लागि कानुन पालना गर्न सबैले आफ्नो भागको जिम्मेवारी निर्वाह गर्नु जरुरी रहेको उनले बताए। मतदाताका चाहाना कति पूरा हुन सके वा सकेनन्? जनताको अधिनायकत्व हुन सक्यो वा सकेन? उत्पदानमा वृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यमा सुधार कति भयो? यी प्रश्नहरुको सम्बोधन पनि निर्वाचन गर्नुपर्ने उनको भनाई थियो। ‘नयाँ निर्वाचन ऐन ल्याएर निर्वाचन प्रणालीमा रहेका समस्या सुधार हुनु पर्छ।’

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन आचारसंहिता पालना गर्ने सबैको कर्तव्य भएको उल्लेख गर्दै आचारसंहिता कार्यान्वयनमा समस्या देखिने गरेको बताए। यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले निर्वाचन आयोग स्वयं कसैको प्रभावमा पर्छ कि? आचारसंहिता उल्लंघलन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्छ? भनेर प्रश्न गरिन्। ‘विगतको अनुभवले यहि कुरामा भय उत्पन्न भएको छ,’ उनले भनिन्। गाउँ गाउँमा म संग यति मत छन् भनेर ठेक्का लिने व्यक्तिहरु अहिलेदेखि सल्वलिन लागेको उनले बताईन्।  

निर्वाचनमा धन, सत्ता र शक्तिको प्रयोग हुन्छ,’ निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले धन, सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने गरेको सहभागीले बताए। नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाधर भट्टले सत्तामा रहेका राजनीतिक दलका नेताहरुले नै निर्वाचनमा मनी, मशस्ल र सत्ता प्रयोग हुन्छ भन्नुले निर्वाचन मा आचारसंहिता पालना नहुने स्पष्ट देखिएको बताए। माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरि चौधरीले पनि आचारसंहिता कार्यान्वयन हुनेमा आशंका जनाए। ईन्सेकका प्रदेश संयोजक खडकराज जोशीले विगतका उदाहरणले आचारसंहिता कार्यान्वयन हुनेमा शंका रहेको बताए।

महिला अधिकारकर्मी सावित्रा घिमिरेले पैसा, पहुँच हुने नै उम्मेदवार बन्ने गरेको उल्लेख गर्दै विगतमा जस्तै यसपटक पनि आचारसंहिता पालना हुने शंका रहेको बताइन्। मतदान अघिको ४८ घण्टाको मौन अवधिमा पैसामा मत खरिद गर्न व्यापक चलखेल र निर्वाचन आचारसंहिताको उल्लंघन हुने सहभागीको भनाई थियो।

प्रकाशित: १४ चैत्र २०७८ १२:१५ सोमबार

निर्वाचनमा आचारसंहिता