राजनीति

दस महिनादेखि मन्त्रीविहीन

उद्योग तथा व्यवसायको संरक्षण तथा प्रर्वद्धन गर्ने जिम्मा लिएको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय १० महिनादेखि मन्त्री विहीन छ।

मन्त्रालयको दोस्रो तलामा मन्त्रीको कार्यकक्ष बाहिर उद्योगसमेत हेर्ने गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको नेम प्लेट टाँगिएको छ तर प्रधानमन्त्री देउवा त्यहाँ एक पटक पनि टेकेका छैनन्। १० महिनाको अवधिमा २ दिन मात्रै उद्योग मन्त्रालयमा विभागीय मन्त्री नियुक्ति भएका छन्। यी दुई दिन छाड्ने हो भने १० महिनासम्म उद्योगले विभागीय नेतृत्व पाउन सकेको छैन।

उद्योग मन्त्रालय मन्त्रीविहीन भएको ४ महिनापछि प्रधानमन्त्री देउवाले २०७८ असोज २२ गते गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री नियुक्ति गरे। नियुक्ति निकै विवादस्त बन्यो। यसपछि नियुक्ति भएको दुई दिनमै हमालले राजिनामा दिए।

त्यसपछि उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवा आफैंले हेर्दै आएका छन्। सर्वोच्चको आदेश पछि २०७८ असार ८ गते तत्कालिन उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री राजकिशोर यादवले १३ दिनमै मन्त्रालय छाडे। त्यहाँ उनले २ हप्ता पनि काम गर्न समय पाएनन्।

प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्चले बैधानिकता दिन नमिल्ने भन्दै फैसला सुनाए पछि यादवलगायतका १३ जना मन्त्री सरकारबाट बाहिरिए। यसपछि २०७८ असार ८ देखि २०७८ असार २९ गतेसम्म केपी शर्मा ओली प्रधानमन्त्री भए। ओली प्रधानमन्त्री भएको बेला उनले उद्योग मन्त्रालय हेर्ने जिम्मा तत्कालिन उपप्रधान तथा अर्थमन्त्री वीष्णु पौडेललाई दिए। पौडेलले उद्योगको जिम्मा त लिए तर एक दिन पनि उद्योगमा पुगेनन्।

मन्त्रालयले कुनै निर्णय गर्नु परेमा मन्त्रालयका सचिव तथा उच्च कर्मचारीहरू फायल बोकेर अर्थ मन्त्रालय पुग्ने गर्थे। अहिले पनि त्यही स्थिति छ। मन्त्रालयले कुनै निर्णय गर्नु परेमा उद्योग मन्त्रालयका उच्च कर्मचारीहरू फायल बोकेर प्रधानमन्त्री कार्यालय जाने गर्छन्।

प्रधानमन्त्रीसँग समय मिलाउन पनि त्यती सजिलो छैन। कहिलेकाँही प्रधानमन्त्रीलाई नभेटेरै फर्कने गर्छन्। प्रधानन्त्री भेट्न प्रधानमन्त्री कार्यालयमै पुग्नु पर्ने भएकाले कार्यालयमा फायल बोक्ने कर्मचारीहरू माथिल्लो तहका कर्मचारी हुने गर्छन्। तल्लो तहका कर्मचारीले त्यो अवसर पनि पाउँदैनन्।

‘२०७८ असार ८ देखि अहिलेसम्म हामीले विभागीय मन्त्री भेट्न पाएका छैनौं। यस बिचमा हामीले दुई दिन मात्रै विभागीय मन्त्री देख्न पायौं,’ उद्योग मन्त्रालयका एक उपसचिव भने। पूर्व उद्योग तथा वाणिज्यमन्त्री राजकिशोर यादवले लामो समयसम्म उद्योग मन्त्रालयलाई मन्त्रीविहीन बनाउन राम्रो नहुने बताउँछन्। ‘कसलाई मन्त्री नियुक्ति गर्ने, त्यो प्रधानमन्त्रीको तजविजको कुरा हो तर उद्योग, वाणिज्य तथा आपुर्ती जस्तो महत्वपूर्ण मन्त्रालय लामो समयसम्म मन्त्रीविहिन बनाउनु राम्रो होइन,’ उनले भने।

उद्योग मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले भने विभागीय मन्त्री नियुक्त नहुँदा पनि काममा अप्ठयारो नभएको बताए। ‘अहिले उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले हेर्ने गर्नु भएको छ। काम प¥यो भने फायल बोकेर प्रधानमन्त्रीलाई भेट्न जान्छौं,’ उनले भने। तर मन्त्रालयकै अर्का एक उपसचिवले भने विभागी मन्त्री नियुक्त नहुँदा काममा अप्ठयारो परेको बताए।

विभागी मन्त्री नभएकै बेला उद्योग मन्त्रालयमा सचिव तथा उच्च कर्मचारीहरू पटकपटक फेरिने गरेका छन्। केही दिन अघि मात्र गणेश पाण्डे भूमि व्यवस्थापन मन्त्रालयबाट उद्योगमा पुगेका छन्। मन्त्रालयका एक उपसचिव भन्छन, ‘केही कर्मचारीहरू त विभागीय मन्त्री नभएको बेला उद्योगमा आए र मन्त्री नेदेखरै उद्योगबाट सरुवा भए।’

प्रकाशित: १७ फाल्गुन २०७८ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App