राजनीति

संसद् छल्दै हिँंडेका अर्थमन्त्रीले नैतिक बल गुमाए

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसिसी सम्झौतामाथि छलफल गर्ने कार्यसूची थियो। एमसिसीको तालुकदार निकाय अर्थ मन्त्रालय हो। त्यसको नेतृत्व अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। एमसिसीको विषयमा उठेका प्रश्नको निरूपण गर्ने जिम्मेवारी शर्माको हो।

तर उनी विभिन्न बहाना बनाएर यो जिम्मेवारीबाट भागिरहेका छन्। अर्थमन्त्रीको हैसियतमा उनले आइतबार संसद्मा एमसिसी टेबुल गर्नुपथ्र्यो तर बिरामी भएको बहाना बनाएर अनुपस्थित रहे। त्यसपछि अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसद्मा टेबुल गरेका थिए।

अर्थमन्त्री शर्मा बिहीबार पनि राष्ट्रिय महत्वको एमसिसीलाई छाडेर काठमाडौंबाट पर्वत पुगे। शर्माले मन्त्रीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भएको छ। शर्माले अर्थमन्त्रीको जिम्मेवारीमा बसिरहने नैतिक बल गुमाएका छन्। उनको दल नेकपा माओवादी केन्द्र एमसिसीको विपक्षमा छ।

राजनीतिक कारणले बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भए पनि शर्मा संसद् छल्नकै लागि पर्वत गएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘मन्त्रीज्यू एमसिसीजस्तो महत्वपूर्ण विषय छाडेर पर्वत जानुपर्ने उच्च महŒवको कुनै कार्यक्रम थिएन,’ अर्थका ती अधिकारीले भने, ‘एमसिसीबाट भाग्न उता (पर्वत) जानुभएको हो।’

नेकपा एकीकृत समाजवादीका तर्फबाट सहरी विकासमन्त्री भएकी रामकुमारी झाँक्रीले भने सरकारमा बस्ने हो भने प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्नुपर्ने बताउँदै आएकी छन्। ‘क्याबिनेटमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्ध उभिन नैतिकताले दिँदैन,’ झाँक्रीले भनेकी छन्, ‘सरकारमा बस्ने हो भने प्रस्तावको पक्षमा उभिनुपर्छ।’

एमसिसी परियोजना माग गर्नेदेखि सम्झौता चरणका सबै प्रक्रियामा अर्थ मन्त्रालय सहभागी हुँदै आएको छ। त्यही मन्त्रालयका मन्त्रीले अहिले एमसिसीमा पदीय जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना भएको छ।

शर्मामाथि पदीय गरिमा जोगाउन नसकेको आरोप लागेको छ। एमसिसीमा अर्थमन्त्री शर्माले पदीय जिम्मेवारी पूरा गर्न नसकेको पूर्वअर्थमन्त्री डा. रामशरण महतले बताए। ‘एमसिसीमा कन्फ्युज भएका विषयमा अर्थमन्त्रीबाट प्रश्न सोधिएको रहेछ,’ महतले भने, ‘ती विषयमा अहिले अर्थमन्त्रीले प्रस्ट पार्नुपथ्र्यो।’

एमसिसीको सबै प्रक्रिया अर्थ मन्त्रालयले अघि बढाएको तर अहिले मन्त्रीले आफ्नो जिम्मेवारी पूरा नगरेको महतको आरोप छ। ‘उहाँको पार्टी (नेकपा माओवादी केन्द्र) एमसिसीको पक्षमा नभएकाले भाग्दै हिँड्नुभएको होला,’ पूर्वअर्थमन्त्री महतले भने, ‘तर मन्त्रीज्यूले नैतिक रूपमा एमसिसीबारेमा जवाफ दिनुपथ्र्यो, पर्छ।’

शर्माले पदीय गरिमा बिर्सेर संसद्लाई छलेको अर्का एक पूर्वअर्थमन्त्रीले बताए। ‘अर्थमन्त्रीलाई अब पदमा बस्ने नैतिक अधिकार छैन,’ ती पूर्वमन्त्रीले भने, ‘उहाँले मन्त्री पदको गरिमा जोगाउन सक्नुभएन।’ राजनीतिक विषय भए पनि सरकारको मन्त्री भएपछि मन्त्रीकै हैसियतमा जिम्मेवारी पूरा गर्नुपर्ने ती पूर्वमन्त्रीले बताए।

पर्वत उद्योग वाणिज्य संघको ११औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शर्मा पर्वत पुगेका हुन्। त्यहाँ उनले एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेकाले सोहीअनुसार टुंगो लाग्ने तर पारित नहुने बताए। ‘जनताको भावनाविपरीत एमसिसी संसद्बाट पास हुँदैन,’ शर्माले भने। उनले पर्वतस्थित गुप्तेश्वर गुफा पनि अवलोकन गरे। उनी पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित ‘स्काई चियर’ मा गए। उनी कुश्माबाट बागलुङको नारायणस्थानमा निर्माणाधीन बलेवा विमानस्थलको अवलोकन गर्न गएका थिए।

प्रकाशित: १३ फाल्गुन २०७८ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App