राजनीति

कोरोनाले एमालेका सबै कार्यक्रम स्थगित

मुलुकभर कोभिड–१९ संक्रमण बढेपछि नेकपा एमालेले पूर्वघोषित सबै कार्यक्रम स्थगित गरेको छ। संक्रमणकै बीचमा ६४ जिल्लामा अधिवेशन सम्पन्न भए पनि प्रदेश संगठन कमिटी तथा जनवर्गीय संगठनका अधिवेशन स्थगित भएका छन्। बाँकी जिल्लामा पनि अधिवेशन हुन सकेको छैन। संक्रमण दर कम भएपछि ती जिल्लामा अधिवेशन गर्ने एमालेले जनाएको छ।

त्यस्तै माघ ८ का लागि तोकिएको प्रदेश संगठन कमिटीको अधिवेशन माघ २८ मा सारिएको छ। फागुन ११ गतेलाई तोकिएको युवा संघको महाधिवेशन पनि सर्ने अवस्थामा छ। त्यसैगरी माघ २२ लाई तोकिएको प्रेस चौतारीको अधिवेशन पनि अर्को मिति नतोक्दासम्म स्थगित भएको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अधिवेशन गर्न बाँकी रहेका सबै कमिटीका अधिवेशन तत्काललाई स्थगित गरिएको छ। पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेखमा अधिवेशन भएर पनि कोभिड संक्रमण फैलिएपछि नेतृत्व चयन हुन पाएको छैन। ‘संक्रमणको दर कम भएपछि ती जिल्लामा नेतृत्व चयन हुनेछ’, रिजालले भने। धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशन भएको छैन। 

त्यसैगरी सात प्रदेश संगठन कमिटीको पनि अधिवेशन भएको छैन। त्यस्तै विद्यार्थी विशेष र उद्योगी–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशन पनि पछि आयोजना गरिने रिजालले जानकारी दिए। जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरूमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन सम्पन्न भएका छन्। जनवर्गीय संगठनमध्ये अनेरास्ववियुको मात्रै मिति नतोएिकाले त्यसका बारेमा केही निर्णय भएको छैन।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले संक्रमण बढ्दै गएपछि सबै कार्यक्रम स्थगित गर्न र २५ जनाभन्दा बढी भेला नहुन पार्टीले निर्दैशन दिएको बताए। एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ लगायतका नेता पनि संक्रमित भएका छन्। एमालेको अधिवेशनलगत्तै धेरै नेतामा कोरोना संक्रमण भएको थियो। 

उपमहासचिव प्रदीप ज्ञवाली भने संक्रमणमुक्त भैसकेका छन्। एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी, सुजिता शाक्य, भानुभक्त ढकाल पनि संक्रमित भएका थिए। एमालेको जिल्ला अधिवेशनमा सहभागी भएर काठमाडौं आएका धेरैजसो नेता आइसोलेसनमा परेका थिए। पुस २७ र २८ गते युवा संघको पोखरामा भएको सचिवालय बैठकमा सहभागी भएका नेता पनि संक्रमित भएका थिए। ‘नेता, कार्यकर्ता संक्रमित भएको र जनस्तरमा समेत संक्रमण फैलिएपछि सबै कार्यक्रम स्थगित भएका छन्’, अधिकारीले भने।

एमालेले सोमबार सर्कुलर जारी गरी पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गरेको थियो। यसका साथै सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्नसमेत एमालेले निर्देशन दिएको थियो।

सानोसानो आकारमा केही जनवर्गीय संगठनको अधिवेशन भने भैरहेको एमालेका नेताहरूले जनाएका छन्। पहाडी जिल्ला र संक्रमण नभएका जिल्लामा मापदण्ड पूरा गरेर सानो समूह बनाएर कार्यक्रम सञ्चालनमा आएका छन्।

आर्थिक विभागमा तीन सदस्य

नेकपा एमालेले उपमहासचिव विष्णु रिमाल संयोजक रहेको तीन सदस्यीय आर्थिक तथा कोष व्यवस्थापन विभाग गठन गरेको छ। केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार उनी आफू र पोलिटब्युरो सदस्य बिना श्रेष्ठ सदस्य रहनेगरी विभाग गठन भएको हो। पार्टीले गर्ने खर्च र आम्दानीको हिसाबकिताबको काम यही विभागले गर्छ। ‘केन्द्रीय कार्यालयबाट हुने खर्च पनि यही विभागले हेर्ने गर्छ’, अधिकारीले भने। एमालेमा यस विभागलाई कोषाध्यक्षको रुपमा लिइन्छ। एमालेको विधानमा कोषाध्यक्षको प्रावधान छैन।

यस्तै एमालेले स्थानीय तह विभागलाई पूर्णता दिन थालेको छ। पोलिटब्युरो सदस्य एवं विभाग प्रमुख देवेन्द्र दाहालका अनुसार राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराललाई विभागको उपप्रमुख तोकिएको छ। यसैगरी स्थानीय तह सम्बद्ध तीनवटा संस्थाका अध्यक्षलाई विभागको सदस्य बनाइएको छ। जसमा नगरपालिका महासंघका अध्यक्ष एवं काभ्रे जिल्लाका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल रहेका छन्। यसैगरी सदस्यमा झापाका हर्कराज राईलाई पनि राखिएको छ। सो विभागमा बढीमा २५ सदस्य हुनेछन्। अन्य सदस्य आवश्यकताअनुसार मनोनीत गरिने बताइएको छ।

प्रकाशित: ६ माघ २०७८ ०२:०७ बिहीबार

नेकपा एमालेले पूर्वघोषित सबै कार्यक्रम स्थगित