राजनीति

एमाले उदयपुरमा नेतृत्व चयन पेचिलो बन्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उदयपुरको नेतृत्व चयन पेचिलो बन्दै गएको छ। ३ दिनअघि सुरु आठौँ जिल्ला अधिवेशनले सर्वसम्मतका लागि गरेको प्रयास गरे पनि अध्यक्षका आकांक्षीहरु पछि नहटेपछि नेतृ्त्य चयन कार्य थप पेचिलो बन्दै गएको हो।

सुरुदेखि हालसम्म अध्यक्षका लागि ३ जनाको दाबी कायम छ। सचिवालय सदस्य तथा जिल्ला समन्वय प्रमुख खड्ग परियार, निवर्तमान पार्टी सचिव प्रमेश घिमिरे र अर्का सचिवालय सदस्य कालु लामाले अध्यक्षमा दाबी कायम राखेका छन्। अघिवेशनअघि नै उम्मेदवारी घोषणा गरेका अर्का सचिवालय सदस्य कुशल बस्नेतले भने सर्वसमम्त भएपछि हट्ने भन्दै सचिवको उम्मेदवारी घोषणा गरेका छन्।

अघिवेशन सुरु भएको ३ दिनसम्म परियार, घिमिरे र लामाको दावी कायमै रहेपछि चुनाव गराउनुपर्ने अवस्था पनि आउनसक्ने अध्यक्ष मण्डलले जनाएको छ। पार्टी जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य मञ्जुकुमारी चौधरी संयोजकत्वको ९ सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै उद्घाटन शत्र सकिएलगत्तै आइतबार विहान ११ः०० बजेसम्मका लागि बन्दसत्र स्थगित गरेको थियो।

दोस्रो दिनभरको प्रयास पनि उपलब्धीविहीन भएपछि साँझ पुनः सत्र स्थगित गर्दै सोमबार विहान ११ः०० बजेका लागि शत्र बोलाएको थियो। तर, सोमबार साँझसम्म पनि कोही पछि नहटेपछि चुनावी प्रक्रियामा जाने या थप प्रयास गर्ने भन्ने विषयमा एकपटक पुनः छलफल सुरु भएको अध्यक्ष मण्डलका एक सदस्यले बताए। पटक पटकको प्रयासले परिणाम नदिएपछि चुनावी प्रक्रियामा जाने र फेरि प्रयास गर्ने विषयमा अध्यक्ष मण्डलभित्रै दुईधार देखिएको छ।

एकपक्षले अझै प्रयास गरेर सहमतिमै नेतृत्व चयन गर्नुपर्ने अडान लिदैछ भने अर्को पक्ष भने पटक पटकको प्रयासबाट सहमति नजुटेकाले दिक्क भएर बरु चुनावी प्रतिस्पर्धा गराइ दिने र हैसियत हेर्न दिने कि भन्ने निश्कर्षमा पुगेको छ। तर, चुनावै गर्ने या सहमतिकै प्रयास गर्ने भन्नेबारे अहिले नै यकिन भने नभइसकेको अध्यक्ष मण्डलका सदस्यहरु बताउँछन्।

इन्चार्ज चौधरी नेतृत्वको अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, जिल्ला निवर्तमान सचिवालय सदस्य दुर्गाकुमार थापालगायत छन्।

अध्यक्षका प्रत्यासीसँगै उपाध्यक्ष, सचिव र उपसचिवका प्रत्यासी पनि पछि नहट्ने पक्षमा रहेका छन्। उपाध्यक्षमा कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ र भरत थापाले दाबी गरेका छन् भने सचिवमा टेकबहादुर राउत र कुशल बस्नेतको दाबी रहेको छ। त्यस्तै उपसचिवमा महेश्वरी राई, सिर्जना दनुवार र खगेन्द्र पोखरेलको दाबी छ। कोही दाबेदार पछि नहट्ने भएपछि चुनाव गराउने या फेरि सहमति प्रयास गर्ने विषयमा छिट्टै टुंगो लगाउने गरी अध्यक्षमण्डलको अन्तिम बैठक बसिरहेको बताइएको छ।  

प्रकाशित: २६ पुस २०७८ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App