राजनीति

सरकारले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घर–घरमै भत्ता पुर्‍याउँछः मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने व्यवस्था गरिने बताएकी छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्ष माथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पुर्‍याउने बताइन्। ९० वर्ष माथि पुगेका जेष्ठ नागरिकहरु शारीरिक रुपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्‍याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने उनले बताइन्।

त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि घरमै पुर्‍याउने पनि उनले जिकिर गरिन्।

उनले भनिन्, ‘जेष्ठ नागरिकहरु जो ९० वर्ष माथि पुग्नुभो। जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरु जो रातो कार्ड पाउनुभएको छ। उहाँहरु बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न। त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरु बैंक जान सक्नुहुन्न। त्यस्तोहरुलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पुर्‍याइदिने बैंकले, त्यो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौँ। संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर त्यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको छ।’

उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको पनि बताइन्।

प्रकाशित: ८ पुस २०७८ १२:२० बिहीबार

घर–घरमै भत्ता