राजनीति

देश बनाउने जिम्मेवारी नयाँ पुस्तालाई दिऔंः डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देश बनाउने जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्ने बताएका छन्। मुक्तिनाथ कृषि कम्पनी प्रालि, क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषक परिचय पत्र वितरण कार्यक्रमको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले देश बनाउने जिम्मेवारी बुढा पुस्ताबाट सम्भव नभएको भन्दै त्यो जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्। 

‘हाम्रो पुस्ताले भत्कायो, जहाँनिया राणा शासन, पञ्चायतदेखि राजालाईसमेत ढालेर हामीले पुरानो संरचना भत्काउन योगदान गरेकै हौं, तर कसरी बनाउने? त्यो हाम्रो पुगिराखेको छैन। हिजो भत्काउन प्राप्त गरेको श्रेष्ठता र ज्ञानमा नै अहंकार गरेर आजिवन कुर्सीमा बस्ने सोच हामी राख्ने, नयाँ पुस्ताले पनि प्रश्न नउठाउने र उल्टै त्यही पुरानै पुस्ताको वरीपरी रहेर पद हासिल गर्ने सोंचले देश संकटमा परिरहेको छ,’ उनले भने।

उनले बुढा पुस्ताले अहिलेको डिजिटल जमाना अनुसार काम गर्न नसक्ने बताए। डा.भट्टराईले नेपालमा उत्पादन महङ्गो हुने भएकाले छिमेकी देशको उत्पादनसँग प्रतिष्पर्धा गर्न कठीन भएको बताए।  

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकारले उत्पादन वृद्धिमा जोड दिएको बताए। उनले उत्पादनमा लागेकालाई सरकारले सहयोग गर्नेसमेत उनले जानकारी दिए।

मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी बिउ, मल, औजार, प्रविधिलगायतको उत्पादन र खरिद बिक्री गर्ने जनाएको छ। पोखराको नागढुंगामा क्षेत्रीय कार्यालय रहेको यस कम्पनीले प्रदेशका पालिका पालिकामा पुर्याएर कृषकलाई सेवा दिने कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए।

कम्पनीमा हाल ४० करोड लगानी रहेको जनाइएको छ। जसमा मुक्तिनाथ विकास बैंकको ६० प्रतिशत लगानी रहेको छ भने बाँकी रकम ६२ जना व्यवसायीले ४० प्रतिशत लगानी गरेको कार्यकारी अध्यक्ष ढकालले बताए। उनका अनुसार १० प्रतिशत भने सर्वसाधारणलाई लगानी गर्न दिइने छ। त्यसका लागि कम्पनीले आईपिओ जारी गर्ने उनले बताए।

कम्पनीका सचिव तथा बरिष्ठ प्रबन्धक रामशरण तिमिल्सिनाले कृषि अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले खुलेको यस कम्पनीले विदेशबाट फर्केका युवा तथा स्वदेशमै भएपनि बेरोजगार भएका युवाहरुलाई प्राथमिकतामा राखेर रोजगार र स्वरोजगार बनाउने लक्ष्य लिएको स्पष्ट पारे।

प्रकाशित: २४ मंसिर २०७८ १२:५३ शुक्रबार

पूर्व प्रधानमन्त्री