राजनीति

राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन

नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बतायो। ‘पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १ हजार ८ सयजति प्रतिनिधि सहभागी गराउने तयारी हो’,स्रोतले भन्यो।

राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक दस्तावेज लेखनमा जुटिसकेका छन्। ‘अहिले मानिसहरूसँग भेटघाट निकै कम छ। उहाँ राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागिसक्नुभएको छ’, दाहालनिकट एक नेताले भने।

कुनै बेला चार हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेपेको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउन जोड दिँदै मंसिर ४ गते वडा र मंसिर ११ गते गाउँपालिकाको सम्मेलन गरेको छ।

मंसिर १८ गते जिल्ला र २५ गतेभित्र प्रदेश सम्मेलन गरिसक्ने तालिका छ। ‘केन्द्रले पठाएको कार्यतालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ,’स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘अब माओवादी केन्द्र वैचारिक तथा राजनीतिक रूपले स्पष्ट भएर अघि बढ्नेछ।’ उनका अनुसार पार्टीमा पहिलाको भन्दा आकर्षण बढेको छ। ‘अहिलेको अवस्थामा पार्टीप्रतिको आकर्षण बढेको छ त्यही भएकाले पार्टी नेता र कार्यकर्ता उत्साहित छन्’, गजुरेलले भने।  

माओवादी केन्द्रले गएको साउनमा विधान संशोधन गरेर पार्टीका विभिन्न तह र तप्कामा निर्वाचनको व्यवस्था गरेको छ। ‘साउनमा पास गरिएको विधानअनुसार नै सबै कमिटी निर्माण हुनेछन्,’ गजुरेलले भने।

एमाले–माओवादी एकीकरणपछि बनेको नेकपाको संरचनाअन्तर्गत अहिले माओवादी केन्द्रले अन्तरिम विधान जारी गरेको छ। सो विधानमा १४ केन्द्रीय निकायको व्यवस्था छ। जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्,अनुशासन आयोग, लेखापरीक्षण आयोग,निर्वाचन आयोग, सल्लाहकार परिषद्,केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन्। माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ।

२९९ सदस्यीय केन्द्रीय समिति,केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरिएको छ।

दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको एक केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादन गर्न महासचिवको नेतृत्वमा सचिव र कोषाध्यक्षसहितको आवश्यक संख्याको केन्द्रीय सचिवालय रहने विधानमा उल्लेख छ।

माओवादी केन्द्रको विधानअनुसार सबै केन्द्रीय आयोग २५ सदस्यीय रहनेछन्। राष्ट्रिय परिषद्मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूदेखि पार्टीसम्बद्ध जनवर्गीय, पेसागत, मोर्चा तथा अन्य सामाजिक संगठनका केन्द्रीय अध्यक्ष वा संयोजक वा प्रमुख रहेन व्यवस्था रहेकाे छ।

केपीले नमान्दा संविधान संशोधन भएनः दाहाल  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले नमान्दा संविधान संशोधन हुन नसकेको बताएका छन्। ‘तपाईंहरूलाई थाहा छ, एमालेको केपी गुट जनजातिको विरोधी छ,दलित, महिला, मुस्लिमहरूको हक,अधिकार र पहिचानको विरोधी छ,उसैको कारणले संविधान संशोधन नै भएन’, बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै दाहालले भने।

उनले मधेसी जनता, दलित, जनजातिको हकहितको कुरालाई लिएर आफूले संविधान संशोधनको प्रस्ताव राख्दा ‘एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको’ उल्लेख गरे।

दाहालले एमाले जनजाति, दलित,महिला र मुस्लिमको हकअधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाए।

दाहालले माओवादीले संघीयता छाड्यो भनेर भ्रम फैलाउने काम भएको समेत बताए। उनले भने, ‘मधेसमा अलि ठूलो भ्रम थियो,के भ्रम दिने कोसिस गरियो भने माओवादीले संघीयता छोड्यो। जुन माओवादीले संघीयताको निम्ति हजारौंको बलिदान गर्‍यो, त्यसैलाई यस्तो झुटो आरोप लगाएर तथाकथित मधेसवादी पार्टी बनाएर अनि यिनीहरू हुन् मधेसको मुक्ति गर्ने भनेको जस्तो गरी, जो वास्तवमा मधेसी जनताको विरोधी,त्यहाँका मजदुर, किसान विरोधी, त्यहाँका, दलित, मुस्लिम विरोधी हुन्, तिनीहरूलाई मधेसको मसिहाजस्तो गरेर प्रस्तुत गर्ने कोसिस भयो।’

प्रकाशित: १७ मंसिर २०७८ ००:२२ शुक्रबार

नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारी एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी