राजनीति

कांग्रेस महामन्त्री महाधिवेशन प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका खड्काले ७३६ मत प्राप्त गरे। कांग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि महामन्त्री खड्का सधैं कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने गरेका छन्।

मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। निर्वाचन अधिकृत नारायण कँडेलका अनुसार खड्काले केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ सर्वाधिक मत प्राप्त गरे। यसअघिमा महाधिवेशनमा वारेसमार्फत उम्मेदवारी दर्ता गरेर निर्वाचित प्रक्रियामा सहभागी हुँदै आएका खड्का १४ औं महाधिवेशनमा भने मतदानमा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्रमा आएका थिए।

क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि सबै संस्थापन समूहका उम्मेदवार विजयी भए। संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै प्राप्त गरे। यस्तै सचिवमा संस्थापन समूहका मोहन राना (७२०) र पदमबहादुर खत्री (७१७) मत ल्याएर विजयी भए। सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी (६८४) र यामलाल पंगाली (६८७) मत ल्याएर विजयी भए।

महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत विजयी भए।

प्रकाशित: ८ मंसिर २०७८ ०४:१६ बुधबार

कांग्रेस महामन्त्री महाधिवेशन प्रतिनिधि निर्वाचित