राजनीति

कांग्रेस क्षेत्रीय अधिवेशन: इलामका दुवै निर्वाचन क्षेत्रमा संस्थापन इतर सभापति निर्वाचित

इलामका दुई वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको संस्थापनइतर सभापति निर्वाचित भएका छन्। क्षेत्र १ को सभापतिमा रोङ गाउँपालिका अध्यक्ष शमशेर राई र क्षेत्र २ को सभापतिमा माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगो निर्वाचित भए।

आज (बुधबार)बिहान सम्पन्न मतगणनाअनुसार क्षेत्र १ को सभापतिमा राईले २ सय ४७ मत ल्याएका छन्। यही पदमा उम्मेदवारी दिएका भीष्म प्रधानले २ सय १४,दुर्गा बरालले १ सय ९७ र मिलन क्षेत्रीले २१ मत पाए। क्षेत्र २ को सभापतिमा इदिंगोले ४ सय ३२ मत ल्याए। यही पदमा उम्मेदवारी दिएका नुुतनदेव दुलालले २ सय ९८ र मनबहादुर बुढाथोकीले७४ मत ल्याएका छन्।

दुवै क्षेत्रका निर्वाचित सभापति जिल्ला सभापतिका प्रत्यासी भेषराज आचार्यनिकट मानिन्छन्। इलामका दुवै निर्वाचन क्षेत्रमा संस्थापनइतरका ३/३ र संस्थापनका १/१ जना सभापतिका उम्मेदवार थिए। उनीहरूका आआफ्नै प्यानल थिए।

क्षेत्र १ को सचिवद्वयमा राजकुमार लिम्बू (सेरेङ) र यामन लामा विजयी भए। सहसचिवद्वयमा प्रज्न्वल भट्टराई र बुद्धराज लिम्बू निर्वाचित भए। क्षेत्र २ को सचिवद्वयमा बबिन धनकुमार राई र सुवास घिमिरे तथा सहसचिवद्वयमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित भए।

क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा २५ जना छानिएका छन्। वर्तमान जिल्ला सभापति तथा जिल्ला सभापतिका प्रत्यासी हिमालय कर्माचार्य, पूर्वसभापति तथा अर्का प्रत्यासी केशव थापा र सभापतिकै प्रत्यासी रहेका भेषराज आचार्य महाधिवेशन प्रतिनिधि निर्वाचित भए।

खुलातर्फ उम्मेदवारी दिएका आचार्यले सबैभन्दा बढी(६६५) मत ल्याएका छन् भने वर्तमान जिल्ला सभापति कर्माचार्यले खुुलाका १० जनामा अन्तिम (५०३) मत ल्याएर जिल्ला सभापतिका लागि नयाँ उम्मेदवारी बचाएका छन्।

थापाले ५ सय ७१ मत ल्याए। कांग्रेस जिल्ला सभापतिमा उम्मेदवार हुन प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा विजयी बन्नुपर्ने प्रावधान छ।

खुलातर्फ क्षेत्र २ बाट विजयी अन्य महाधिवेशन प्रतिनिधिमा तारा थापा (६३०), होम दुलाल (६०५),पूर्ण गौतम (५८२),केदार थापा (५५५),हरिप्रसाद खनाल (५४०),गोविन्द गिरी (५३९) र नगेन्द्र कुमाल (५३७) विजयी भए। आदिवासी जनजातितर्फ खगेन्द्र देवान (८०८,ईश्वर चिपालु (५९३, वसन्त थाम्सुहाङ(५८१), महिलातर्फ प्रेमिका रानामगर(६३९, विष्णुकुमारी लिम्बू दाहाल (६१३, चन्दा कार्की (४५९) र शान्तिकला तामाङ (४५१) विजयी भए। खस आर्यतर्फ राजकुमार कार्की (३६०) र लक्ष्मण चौंलागाई (३५३) विजयी भए। खस आर्य महिलातर्फ विमला भण्डारी (४६३), आदिवासी जनजाति महिलातर्फ चन्द्रमाया लिम्बू (६८३),बबिता लिङ्दम (५१४) र जुनुकुमारी माखिम (४५५), दलिततर्फ धनमान बराइली (४७३) तथा थारु/मुस्लिम/अल्पसंख्यकबाट देवेन्द्र मुखिया (४९३) निर्वाचित भए।

२ नम्बर क्षेत्रबाट चुनिने २५ महाधिवेशन प्रतिनिधिका लागि ५२ जनाबीच प्रतिस्पर्धा भएको थियो। क्षेत्र १ बाट महाधिवेशनका लागि २६ प्रतिनिधि मंगलबार छानिइसकेका छन्। इलाममा जिल्ला सभापतिका आकांक्षी ४ नेताले प्रतिनिधिसभाका दुवै र प्रदेशसभाका चारै निर्वाचन क्षेत्रमा आआना अलगअलग चारै प्यानल चुनावमा उतारेका थिए। प्रदेशसभा क्षेत्रका ३ सभापति संस्थापनइतर र १ सभापति संस्थापन पक्षबाट विजयी भएका छन्।

जिल्ला सभापतिका आकांक्षी डम्बर खड्का क्षेत्र १ बाट सर्वाधिक (४४९) मत ल्याएर विजयी भइसकेका छन्। खड्का र जिल्ला सभापतिका अर्का प्रत्यासी केशव थापा संस्थापन पक्षका हुन्।जिल्ला सभापतिका प्रत्यासीद्वय हिमालय कर्माचार्य र भेषराज आचार्य संस्थानिइतर हुन्। जिल्ला नेतृत्वका लागि आउँदो १० गते अशिवेशन हुँदैछ।

प्रकाशित: ८ मंसिर २०७८ ०२:२० बुधबार

कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा रोङ गाउँपालिका अध्यक्ष शमशेर राई आदिवासी जनजाति