राजनीति

सत्ताधारी दल जसपामा भाँडभैलो,एक मन्त्री हटाइए

गत साउनमा जनता समाजवादी दलबाट प्रतिनिधित्व गर्ने प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पदमुक्त गरी माओवादी केन्द्रलाई सरकारमा भित्र्याइयो। त्यतिबेला यादवले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका थिए। त्यसैले विवाद भएन।

मंगलबार प्रदेश सरकारका मुख्यमन्त्रीले जसपाकै उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिसपत्र पठायो। सोही दिन प्रदेश प्रमुखबाट सिफारिस स्वीकृत भयो। मन्त्री राय पदमुक्त भए।

अहिले नेकपा(एस)लाई सरकारमा भित्र्याउन रायलाई पदमुक्त गर्दा विवाद खडा भएको छ। रायले मुख्यमन्त्री लालबाबु राउतलाई ‘दागी चेहरा’को संज्ञा दिएका छन्। जसपाको कार्यकारिणी समिति सदस्यसमेत रहेका रायले नागरिकसँग भने, ‘दागी चेहरा’ फेर्नुपर्ने आवाज उठाउँदा उनले मलाई हटाए। यसको हिसाबकिताब हुन्छ,’उनले भने।

राय तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट सरकारमा सहभागी भएका थिए। पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी(जसपा) बनेको थियो।

महन्थ ठाकुर,राजेन्द्र महतो पक्षसँग विवाद भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा रहेका ठाकुर र महतो समूहका मन्त्री बर्खास्त गरेका थिए। त्यतिबेला उपेन्द्र यादवलाई समर्थन गरेका कारण रामनरेश राय यादवको पद भने जोगिएको थियो। उनीसहित १० जना पूर्व र राजपाका सांसद उपेन्द्र यादवलाई साथ दिएका थिए।

पदमुक्त रायले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले सम्हाल्ने छन्। मुख्यमन्त्री राउतले मंगलबार कात्तिक ३० गते प्रदेश प्रमुख हरिशंकर मिश्रलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड(ख) बमोजिम मन्त्रिपरिषद्को उद्योग,पर्यटन तथा वन मन्त्रीबाट रामनरेश राय पदमुक्त भएको सिफारिसपत्र पठाएको थियो। प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिस सदर गर्दै मन्त्री रायलाई पदमुक्त गरेका हुन्।

मन्त्री रायलाई मुख्यमन्त्री राउतले दुई दिनअघि कात्तिक २८ गते मुख्यमन्त्रीले निवासमै बोलाएर पदबाट राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर उनले मुख्यमन्त्रीको आग्रह अस्वीकार गरेका थिए। एकीकृत समाजवादीलाई सरकारमा भित्र्याउन मन्त्री रायलाई राजीनामा गर्न मुख्यमन्त्रीले आग्रह गरेको बताइएको छ। उक्त मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।

एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने लालबाबु नेतृत्वको सरकारको तयारी छ। यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगाो लागिनसकेको स्रोतले जनायो। प्रदेशसभामा १३ सांसद रहेको एकीकृत समाजवादीलाई उद्योग,पर्यटन, वन तथा वातावरण र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिइने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महेन्द्र यादवको कोटामा मन्त्री बनेका राय हाल जनता समाजवादी पार्टी(जसपा) को कार्यकारिणी समिति सदस्य छन्। संघ सरकारमा महेन्द्र यादव मन्त्री भएपछि उनको कोटामा मन्त्री बनेका रायलाई हटाइएको बताइएको छ।

एकीकृत समाजवादीलाई कुन कुन मन्त्रालय दिने टुंगो नलागेपनि यसै साता प्रदेश सरकारमा सहभागी गराउने गरी छलफल भइरहेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताए। सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल भए पनि मन्त्रालयको टुंगो लाग्न नसकेको एकीकृत समाजवादीको संसदीय दलका नेता शत्रुधन महतोले बताए। ‘सामाजिक विकास र अर्थ मन्त्रालय माग्दा मुख्यमन्त्रीले समस्या देखाएका छन्,’महतोले भने,‘सरकारमा जाने नै हो। तर, मन्त्रालयबारे छलफल हुन सकेको छैन।

एकीकृत समाजवादीबाट संसदीय दलका नेता महतोको नाम मन्त्रीमा टुंगो लागे पनि अर्का मन्त्रीको नाम टुंगो लाग्न बाँकी छ। यता मन्त्रीबाट हटाइएका रायले भने भ्रष्टाचारका दागी मुख्यमन्त्रीले आफूलाई हटाएको बताए।

भ्रष्टाचारमा मुछिएका मुख्यमन्त्रीलाई हटाएर बेदाग चेहरालाई मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठाउँदा उनले आफूलाई हटाएको भन्दै आफूलाई मुख्यमन्त्रीले नियुक्त गरेको नभई पार्टीले मन्त्री बनाएकाले मार्ग मुख्यमन्त्रीले भन्दैमा राजीनामा दिनु नपर्ने बताए। उनले मुख्यमन्त्रीले भ्रष्टाचार गरेको भन्ने आवाज उठाएका कारण आफूलाई हटाइएको दोहोर्‍याए।

प्रकाशित: १ मंसिर २०७८ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App