राजनीति

सुनसरी एमालेमा विवाद कायमै

नेकपा एमाले सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच विवाद थप चर्कदै गएको छ। विवाद समाधान गर्न बुधबार संयुक्त बैठक बस्ने घोषणा गरिएपनि दस बुँदे सहमति पक्षधरका धेरैजसो नेताले बैठक बहिस्कार गरे। बैठकले नेता खेमराज पोखरेल संयोजक रहेको महाधिवेशन आयोजक समिति घोषणा गरेको छ।

२०७५ जेठ २ अघिको कमिटीका संयोजक रमेश बस्नेत पक्षधर धरानका नेता(कार्यकर्तासँगै एमालेको जिल्ला परिषद्बाट निर्वाचित भएर इटहरीको मेयर भएपछि पद हस्तान्तरण गरेका द्वारिकलाल चौधरीले बैठक बहिस्कार गरेका छन्।  

सुनसरी एमालेमा २०७६ पुस ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद विघटन गरेर भएको विकसित राजनीतिक घटनाक्रमपछि ओली पक्षबाट रेवतीरमण भण्डारीलाई अध्यक्ष बनाएर गतिविधी सञ्चालन गरिदै आएको थियो। जसले गर्दा बस्नेत र भण्डारी कुन समूह आधिकारिक भन्नेमा विवाद रहँदै आएको थियो।

दुवै पक्षीय विवाद साम्य नभएपछि कात्तिक ८ गते बैठकपछि प्रदेशको कार्यदल संयोजक सुभास नेम्वाङ् र सदस्य भीम आचार्यले रमेश बस्नेत अधिवेसन आयोजक समितिको संयोजक भएको अधिवेसन समिति गठन गर्न निर्देशनसहितको पत्र पठाएको थिए। निर्देशन बमोजिम बस्नेतले मंगलबार बैठक डाकेपछि प्रदेश इन्चार्ज समेत रहेका आचार्यले त्यसलाई रोकेर सहमति गरि अघि बढ्न दबाब दिएका थिए। तर, बस्नेत समूह आचार्यले भनेकै सहमति मान्ने आधार नभएकाले गर्दा बैठक बहिस्कार गरेको जनाएको छ।

बस्नेत समूहले बहिस्कार गरेपनि एकपक्षीय रुपमा आचार्य प्रमुख अथिति रहेर केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाको अध्यक्षमा बुधबार बैठक बसेको छ। बैठकले प्रदेश कमिटी सदस्य खेमराज पोखरेललाई जिल्ला संयोजक तोकेर महाधिवेशन आयोजक समिति घोषणा गरिएको छ।

बैठकले एमाले केन्द्रीय महाधिवेसनका लागि कात्र्तिक २९ गते सहभागी हुने प्रतिनिधीको निर्वाचन गर्ने र जिल्लाबाट पाँच हजारको सहभागिता जनाउने निर्णय गरिएको जिल्ला पार्टी कार्यालयका सचिव राम कोइरालाले बताए।

सो घोषणा कार्यक्रम शुरुवात गर्ने क्रममा एमालेको जिल्ला परिषद्बाट निर्वाचित भएर इटहरीको मेयर भएपछि पद त्यागेका द्वारिकलाल चौधरीले माइक खोस्दा केहीबेर कार्यक्रम बिथोलिन पुग्यो। चौधरीले जिल्ला समिति हुँदाहुँदै अर्को व्यक्तिको अध्यक्षतामा कार्यक्रम गर्नु गलत भएको बताएका छन्। ‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त उसले अध्यक्षता गर्नुपर्ने हो। कि त केन्द्रले गठन गरेको समितिका रेवती भण्डारीले गर्नुपर्ने हो,’ उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘पार्टी कम्पनी जस्तो भएको र नेतृत्व बिर्ताबालजस्तो भएको छ।’ चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारवाही गर्नसमेत माग गरेका छन्।

त्यसो त दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा निर्तमान प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्चार्ज धर्म निरौलाको गृह जिल्ला सुनसरी हो। दुवै जना पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिई एमालेमै बसेका हुन्। सुनसरीमा विगतमा माधव नेपाल समुहको पकड थियो।  

सोही समूहका केन्द्रीय नेता आचार्यको प्रभाव भएपनि पछिल्लो समय दस बुँदे पक्षधरलाई तल्लो कमिटीदेखि नै पाखा लगाएको असन्तुष्ट समूहले जनाएका छन्। जसले गर्दा पार्टीमा प्रभाव जमाइराख्न ओली पक्षलाई रिझाउन नेता आचार्य र निरौलाले जे जे भने पनि सम्झौता गरेर अघि बढेको असन्तुष्ट समूहका नेता, कार्यकर्ताको आरोप छ।

प्रकाशित: २४ कार्तिक २०७८ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App