राजनीति

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्। प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।

वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि छनोट पनि सर्वसम्मत हुने जनाएको छ।

भरतपुरस्थित नारायणी नदी किनारको मैदानमा महाधिवेशन उद्घाटन गर्ने तयारी एमालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटनस्थलको अवलोकन गरिसकेका छन्। उनले पार्टी सम्पर्क कार्यालय र बन्द सत्र गर्ने स्थल सौराहाको पनि निरीक्षण गरिसकेका छन्।

एमाले महाधिवेशन मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार नेतृत्व छनोट प्रक्रिया एकैदिन टुंगिनेछ। त्यसका लागि एक सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग गरिनेछ।एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा मतदानका लागि भोटिङ मेसिन प्रयोग गर्न अनुमति दिइसकेको छ। ‘एकैदिन मतदान र परिणाम सार्वजनिक गर्नेगरी तयारी भएको छ’,सहसंयोजक पाण्डेले भने। उनका अनुसार सबै हिसाबले महाधिवेशन तयारीमा मूल व्यवस्थापन कमिटी लागिरहेको छ।

एमाले महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन्। एमालेको संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्ष एक, वरिष्ठसमेत पाँच उपाध्यक्ष,महासचिव एक, उपमहासचिव एक र ७ सचिव गरी १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। तर, महाधिवेशनले पदाधिकारी संख्या बढाउन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। ‘महाधिवेशनको हलले विधान संशोधन गर्न सक्ने अवस्था छ।

नेताहरूको व्यवस्थापनका लागि पनि पदाधिकारी बढाउनुपर्ने अवस्था छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने।दसैंअघि सञ्चारकर्मीसँगको भेटघाटमा उपमहासचिव घनश्याम भुसालले विधान संशोधन हुने संकेत गरेका थिए।

उनले महाधिवेशनको हलबाट विधानका केही प्रावधान हेरफेर हुनसक्ने बताएका थिए। अहिले विधानअनुसार महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना निर्वाचित हुनेछन्।‘केन्द्रीय सदस्यहरूको संख्या नबढे पनि पदाधिकारीको संख्यामा हेरफेर हुनसक्छ’, स्थायी कमिटीका ती सदस्यले भने।

एमालेले महाधिवेशन प्रक्रियाअन्तर्गत अहिलेसम्म भएका सबै कमिटी तहमा सर्वसम्मत नेतृत्व छनोट गरेको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले कात्तिक २७ मा महाधिवेशन प्रतिनिधि पनि सकेसम्म सर्वसम्मत छान्ने तयारी गरेको छ।प्रतिनिधि सर्वसम्मत छनोट भए महाधिवेशनबाट केन्द्रीय पदाधिकारी पनि सर्वसम्मत छनोट गर्ने उसको तयारी छ। तर केन्द्रीय सदस्य सर्वसम्मत छनोट हुने अवस्था नरहेको नेताहरूले बताएका छन्।

यसैगरी सत्ता साझेदार माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलन तयारीमा जुटेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतका अनुसार यही कात्तिक २५ गतेसम्म पार्टी सदस्यता नवीकरण, २७ गते टोल सम्मेलन, मंसिर ४ गते वडा सम्मेलन,११ गते गाउँ/नगरपालिका सम्मेलन,२५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलनको कार्यतालिका तय भएको छ।‘पार्टी केन्द्रले पठाएको यही तालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भैरहेको छ’, बस्नेतले भने।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउनुअघि संगठन निर्माण र विभिन्न कमिटीमा नयाँ नेतृत्व तोक्न थालेको छ।भाइटीकाको अघिल्लो दिन कात्तिक १९ गते पार्टीले प्रदेश २ मा जिल्ला समन्वय समिति संयोजक र केही जिल्लामा सहइन्चार्ज (सहसंयोजक) तोकेको छ। प्रदेश २ का आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सहइन्चार्ज माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले तोकेको हो।

राष्ट्रिय सम्मेलनमा विवाद नहोस् भनेर पार्टीले प्रदेश २ का जिल्ला संयोजक तोकेको हो। सप्तरीमा उमेशकुमार यादव, सिरहामा रामकुमार यादव,धनुषामा दीपक यादव, महोत्तरीमा तुलसी ढुंगाना, सर्लाहीमा कमल बुढाथोकी, रौतहटमा देवेन्द्र पटेल, बारामा अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहलाई संयोजक तोकिएको छ।त्यस्तै, सर्लाही जिल्लाको सहइन्चार्जमा लोचन धिमाल र रामपृत राय तथा धनुषाको सहइन्चार्जमा झल्कु यादव तोकिएका छन्।

वीरगन्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकिएको छ। अरु जिल्लाको हकमा आवश्यकताअनुसार संयोजक र सहसंयोजक तोकिने माओवादी केन्द्रले जनाएको छ।अहिले पूर्वकमिटीमा रहेका पदाधिकारीलाई सम्मेलनसम्मका लागि जिम्मेवारी तोकिएको हो।राष्ट्रिय सम्मेलनअघि देशभरका सबै वडा, पालिका, जिल्ला र प्रदेशमा नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०१:०१ सोमबार

नेकपा एमाले माओवादी केन्द्र चितवनमा दसौं महाधिवेशन