राजनीति

कांग्रेसका चुनाव केन्द्रित चियापान

आठबीसकोटमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा सहभागी स्थानीय। तस्बिरः नागरिक

नेपाली कांग्रेस रुकुम पश्चिमले चुनाव केन्द्रित तिहार विशेष कार्यक्रम आयोजना गरेको छ। जिल्लाका ६ वटै स्थानीय तहमा चुनाव लक्षित तिहार शुभकामना आदान प्रदान कार्यक्रम गरेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ।

तिहारको शुभकामनासँगै चुनाव केन्द्रित कार्यक्रम गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए। ‘कार्यक्रममा जनताका आवश्यकता, गुनासा सुन्ने र सरकारले गरेका कामका बारेमा जानकारी गराउने गरेका छौं,’ उनले भने, ‘कार्यक्रममा जनताको उल्लेख्य सहभागिता छ।’ शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरी विभिन्न व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको सभापति ओलीले जनाए।

सत्ताको नेतृत्व नेपाली कांग्रेसको हातमा आएकाले जनताका आवश्यकता र मागअनुसार काम हुने उनको भनाइ छ। कम्युनिस्ट सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनले भने, ‘कम्युनिस्टले जनतामाथि कुठाराघात गरे। अब हाम्रो हातमा सरकारको नेतृत्व आएको छ। कम्युनिस्टले गरेको घातलाई हामी उत्साहमा बदल्छौं।’ त्यस्तै गरी मंगलबार आठबीसकोट नगरपालिकाले करिब दुईजना जति माओवादी केन्द्रका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम उत्साहजनक रूपमा स्थानीयको सहभागिता रहेको नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर नेपालीले जनाए। ‘कार्यक्रममा जनताका सहभागिता देखेर थप उत्साह छाएको छ,’ उनी भन्छन्, ‘जनताको यो विश्वास र मायालाई घात गर्ने छैनौं।’

प्रकाशित: १६ कार्तिक २०७८ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App