राजनीति

एमाले त्रियुगामा शनिबार चुनाव, बेलका र चौदण्डीगढीमा सर्वसम्मत

बिकट पहाडी लिमचुङबुङ गाउँ कमिटीमा सर्वसम्मत निर्वाचित अध्यक्ष भलराज राईलगायत पदाधिकारी सपथको तयारी गर्दै। तस्बिर: महेश्वर/नागरिक

केन्द्रमा वरिष्ट नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी छाडेपछि निर्णय गर्न सहज भएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा देशभर सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष केपी ओलीले आव्हान गरे पनि धेरै ठाउँमा त्यसो भएन। देशभर ९ गते एकैदिन स्थानीयतहको अधिवेशन गरेको एमालेले उदयपुरमै ३/४ दिनसम्म कमिटी चयन हुन नसकेको अवस्था छ।  

उदयपुरको त्रियुगा, बेलका र चौदण्डीगढी नगर अधिवेशन गत मंगलबार सुरु भएकोमा त्रियुगामा बिहीबारसम्म कमिटी चयन हुन सकेन। लगातार ३ दिनसम्मको प्रयासले सहमति नजुटेपछ शनिबार चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गर्ने टुंगामा पुगेको पार्टीले जनाएको छ। त्रियुगामा सृजना दनुवार, दुर्गानन्द चौधरी, केशव घिमिरे र कुलबहादुर राउतले अध्यक्षमा दावी गरेका छन्। सर्वसम्मत नेतृत्वका लागि पटक पटक छलफल भए पनि कोही पछि नहटेपछि चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता आईपरेको साविक कमिटीका सहसंयोजक सागर नेपालले बताए।  

नेपालका अनुसार अध्यक्षसँगै पदाधिकारीका लागि पनि त्रियुगामा निकै ठूलो रस्साकस्सी चलिरहेको छ। दुई उपाध्यक्ष, सचिव र सहसचिवका लागि पनि दर्जन बढी आकांक्षी रहेकाले अध्यक्ष मात्र नभएर पदाधिकारी छनौटमै पार्टीलाई निकै ठूलो कसरत गर्नुपर्ने अवस्था रहेको नेपालले बताए। पुस ५ मा एमालेमा खासगरी ०७८ पुस ५ गतेपछि र ०७५ जेठ २ अघिको अवस्थाका नेतृत्वबीच चर्को प्रतिस्पर्धा छ। तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते संसद बिघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्ड तथा वरिष्ट नेताहरु खनाल र नेपालले ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिदै बिरोध भएको थियो।  

ओलीलाई प्रतिगमनको कदम सच्याउन चेतावनी दिदै प्रचण्ड माधव समूहले देशव्यापी सडक आन्दोलन थालेपछि धेरै नेताकार्यकर्ताले उनीहरुलाई साथ दिदै गएपछि ओलीले आफ्नो पक्षधरलाई केन्द्रीय सदस्य मनोनित गर्नुका साथै देशभर समानान्तर कमिटी गठन गरेका थिए। त्यो अवस्थामा ओलीलाई बचाउ गर्नेहरु अहिले पार्टीलाई शंकट परेका बेला आफुहरुको योगदान रहेको भन्दै यो अधिवेशनमा नेतृत्व लिन कम्मर कसेर लागी परेका छन्। त्यस्तै लामो समयसम्म नेपाल समूहमा रहेका नेताकार्यकर्ता नेकपा (एकीकृत समाजबादी) गठन गरेर खनाल र नेपाल बाहिरिए पनि ०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन ओली तयार भएपछि एमालेमै बसेकाहरु पनि नेतृत्व छाड्ने पक्षमा नरहेपछि अधिवेशन लम्बिएको हो।  

जिल्लाको सबभन्दा ठूलो स्थानीयतह तथा सदरमुकाम भएकाले महत्वपूर्ण मानिने त्रियुगा नगर कमिटीमा अध्यक्षका लागि दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन्। दनुवार प्रतिगमनविरुद्धको आन्दोलन चर्कदै गर्दा अधिकतर कार्यकर्ताले छाडेपछि नगर अध्यक्ष भएकी थिईन्। त्यसैले पार्टीलाँई शंकट परेका बेला अग्रपंतिमा आएर बचाउनेमध्येकी एक भएकाले उनी नै अध्यक्ष हुनुपर्ने दावी पुस ५ पछिको समूहको दावी छ। अर्का प्रत्यासी चौधरी पनि पहिलेदेखि नै ओली समूहकै भएकाले उनी पनि आफु अध्यक्ष हुनुपर्ने दावीमा छन्।  

बाँकी दुई उम्मेदवारमध्य घिमिरे नेकपा हुँदाताका कार्यकर्ता समायोजनमा नगर अध्यक्ष भएकाले आफुले पाउनुपर्ने दावी गर्छन् भने राउत पनि अध्यक्षको हैसियत बनाईसकेको भन्दै उम्मेदवारीबाट पछि हट्नेपक्षमा छैनन्। यसरी चारैजना पछि नहट्ने भएपछि कार्यकर्ताबाट अनुमोदित हुनका लागि चुनावी प्रक्रिया अपनाउनुपरेको अध्यक्ष मण्डलले जनाएको छ। भोलि हुने चुनावमा अध्यक्षसँगै पदाधिकारीको प्यानलै उम्मेदवारी पर्ने संभावना रहेको कार्यकर्ताहरु बताउँछन्। अध्यक्षबाहेक पदमा पनि धेरै आकांक्षी भएको तथा चुनाव गर्नै पर्ने भईसकेपछि माथिदेखि तलसम्मै गरौँ भन्नेमा नेताकार्यकर्ताहरु सहमत भएको उनीहरु बताउँछन्।  

अर्का २ नगरपालिका बेलका र चौदण्डीगढी नगरपालिकामा भने बिहीबार साँझसम्ममा सहमति जुटेर सर्वसम्मत नेतृत्व चयन भएको छ। बेलकामा गणेश बस्नेत र चौदण्डीगढीमा श्याम राई सर्वम्मत अध्यक्ष चुनिएका छन्। बेलकामा सुरेन्द्र चामलिङ, बसन्त मगर र कृष्ण काफ्लेले दावी छाडेपछि बस्नेत सर्बसम्मत भएका हुन् भने चौदण्डीगढीमा भोलाचन्द्र राई, जयकुमार राई र प्रकाश राउतले दावी झिकेका कारण राई सर्वसम्मत हुन सफल भएका हुन्। उत कटारी नगपालिकामा ९ गते नै सञ्जिव कार्कीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन भईसकेको छ।  

त्यस्तै ४ गाउँपालिका रहेको उदयपरमा लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा पनि अधिवेशन सुरुको भोलिपल्टै सर्वसम्मत कमिटी गठन भईसकेका छन्। लिमचुङबुङमा भलराज राई, रौतामाईमा केशव चामलिङ, ताप्लीमा तोपबहादुर ज्युठकुरी र उदयपुरगढीमा यम्बरबहादुर खत्री अध्यक्ष छानिएका हुन्। एमालेले नगर कमिटी ७५ र गाउँ कमिटी ६५ सदस्यीय निर्माण गर्ने विाधनमा व्यवस्था छ।

प्रकाशित: १२ कार्तिक २०७८ ०५:३० शुक्रबार

त्रियुगा एमालेमा