राजनीति

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेवाबाट अनिवार्य अवकाशपूर्व एक महिना बिदा बस्नुअघि सोमबार बुझबुझारथ गरेका छन्। आगामी भदौ २४ बाट अनिवार्य अवकाश लिन लागेका थापाले जंगी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी प्रभुराम शर्मालाई बुझबुझारथ गरेका हुन्। बलाधिकृत शर्मालाई मंगलबारदेखि लागु हुनेगरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाको कायममुकायम प्रधानसेनापति नियुक्त गरिसकेकी छिन्।

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

उनले २०७१ मा मध्यपूर्वस्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघीय मिसन युएनडिओएफको हेड अफ मिसन र फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालेका थिए। तीन वर्षे कार्यकालमा थापाले नेपाली सेनाको संगठानिक सुधारमा महत्वपूर्ण काम गरेका छन्। उनले सेनाको भर्ना प्रक्रिया, शान्ति सेनामा छनोट प्रक्रियादेखि सेनाभित्र हुने अनियमितता, भ्रष्टाचार नियन्त्रण, सैन्य आचरणको पालना, तल्लो दर्जाका सैनिकहरूको हक हित र सुनुवाइलगायतका क्षेत्रमा महत्वपूर्ण सुधार गरेका छन् । उनको कार्यकालमा अनियमितता तथा आचरणविपरीतका काम गरेको आरोपमा उच्च सैन्य अधिकारीसमेत सेवाबाट बर्खास्त भएका छन्।

सेनाभित्र मितव्ययिताको पालना गराउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन् । उनले सेनाभित्र हुने अनियमितता र आचरणविपरीतका काम गर्नेहरूलाई कारबाहीका लागि छुट्टै संयन्त्र बनाएर अनुसन्धान तथा छानबिन गर्ने परिपाटीसमेत थापाले बसालेका छन्। तथापि उनको अवकाशप्राप्त सैनिक अधिकारीको सेवा सुविधा कटौती गर्ने निर्णयको संगठनभित्रै विरोध हुने गरेको छ। उनले सुरु गरेका कतिपय सांगठानिक सुधारका कामले बाहिर चर्चा पाए पनि सैनिक अधिकारीहरूमा विश्वासका साथ काम गर्ने वातावरण नभएको भन्दै उच्च सैनिक अधिकारीहरूले असन्तुष्टिसमेत व्यक्त गर्ने गरेका छन् । तथापि भ्रष्टाचार र अनियमितताका कारण आलोचित नेपाली सेनाको छवि सुधारमा प्रधानसेनापति थापाको प्रयास प्रशंसनीय र अविस्मरणीयसमेत बनेको छ।

प्रधानसेनापति थापाले सेनाको कमाण्ड सम्हालिरहँदा मुलुकभित्र कतिपय राजनीतिक उतारचढाव पनि देखिए। विशेषगरी पूर्ववर्ती सरकारको नेतृत्व गरेको तत्कालीन नेकपाभित्रको आन्तरिक विवाद, सर्वाेच्चको फैसलापछि बनेको नेकपा एमालेभित्रको आन्तरिक किचलो र सत्ता परिवर्तनका घटनासम्म आइपुग्दा कतै सेनाको दुरूपयोग हुने हो कि भन्ने आशंका पनि उत्पन्न भएका थिए। विशेषगरी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सेना राजनीतिक स्वार्थका लागि प्रयोग हुने हो कि भन्ने आशंका उब्जिएको थियो। ओलीले आफ्नो सत्ता जोगाउनका लागि सेना परिचालनको प्रयास गरेको र त्यसका लागि थापालाई विभिन्न आश्वासनसमेत दिएको हल्लासमेत बाहिर आएका थिए। तर थापाले संगठनको छविलाई दाउमा राखेर आफ्नो स्वार्थ पूरा गराउन तयार नभएका कारण सम्भावित दुर्घटना हुन नपाएको कतिपयको दाबी छ। तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

प्रधानसेनापति थापाले संगठनमा सुधारका लागि महत्वपूर्ण प्रयास गरेपनि उनले आवश्यकताभन्दा बढी प्रचार पनि गर्न खोजेको उच्च सैनिक अधिकारीहरू बताउँछन्। ‘उहाँले संगठनमा महत्वपूर्ण सुधार गर्नुभएको छ। त्यससँगै आफूले गरेका कामको सांगठानिक भन्दा पनि व्यक्तिगत जस लिनका लागि उहाँले प्रचारप्रसारमा बढी जोड दिनुभयो। यो सेनाभित्रको आम चरित्र हो,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने।

प्रधानसेनापति थापाले थालनी गरेको सुधारलाई निरन्तरता दिने जिम्मा भावी प्रधानसेनापति शर्माको काँधमा आएको छ। शालिन स्वभावका शर्माले थापाको पदचाप पछ्याउँदै आफ्नै सुधारात्मक परिचय पनि स्थापना गर्नुपर्ने चुनौती छ। बुझबुझारथ कार्यकामलाई सम्बोधन गर्दै शर्माले सैनिक संगठनमा सामूहिक भावना नै सर्वोपरी रहेको भन्दै विगतका उपलब्धिलाई संस्थागत गर्दै सुधारका विषयलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। त्यो प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्छन् त्यो भने उनको कार्यकालमा हुने गतिविधिले पुष्टि गर्नेछ।

प्रकाशित: २६ श्रावण २०७८ ०३:२४ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट अनिवार्य अवकाश