गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको बैठकमा विश्वासको मत लिने तालिका रहेको छ ।
दुईतिहाई मतसहित पहिलोपटक मुख्यमन्त्री बनेका गुरुङ ठूलो दलको हैसियतमा गत वैशाख २९ गते दोश्रोपटक मुख्यमन्त्री बनेका थिए । अल्पमतको सरकारको नेतृत्व गरेका मुख्यमन्त्रीले एकमहिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिन थालेका हुन् ।
बिपक्षी गठबन्धनले असार १ गते बजेट ल्याउनै पर्ने बाध्यकारी ब्यवस्था भएकाले विश्वासको मत केही दिन अगाडि नै लिन आग्रह गरेपनि मुख्यमन्त्री गुरुङले एक महिना पुग्ने अन्तिम दिन विश्वासको मत लिने अडान लिँदा विश्वासको मत लिन ढिलाई भएको हो ।
यसअघि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले ल्याएको अविश्वासको प्रस्ताव माथि मतदान हुने अघिल्लो दिन गत वैशाख २६ गते मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमा जनमोर्चाको पनि समर्थन रहेको थियो । जसका कारण मुख्यमन्त्री गुरुङले चलाखीपूर्ण कदम चाल्दै पदबाट राजीनामा दिए ।
विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ । ६० सदस्य रहेको प्रदेश सभामा एमालेको पक्षमा २८ सदस्य (स्वतन्त्रका मनाङेसहित) छन् । त्यसमा पनि माधवकुमार नेपाल पक्षका एकजना सदस्य छन् । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुख बाहेक ११, जनता समाजवादी पार्टी (जसपा)का २ र राष्ट्रिय जनमोर्चाका तीनजना छन् ।
तर, जनमोर्चाका कृष्ण थापाले भने मुख्यमन्त्री गुरुङको पक्षमा मत दिने बताउँदै आएका छन् ।
प्रकाशित: २७ जेष्ठ २०७८ ०७:०८ बिहीबार