राजनीति

भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले कोरोना संक्रमण न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउनुपर्ने बताएका छन्। त्यसका लागि चीनसँग वार्ता गरी तत्काल स्वास्थ्य सामग्री ल्याउन उनले सरकारको ध्यानाकर्षण समेत गरेका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।

उनले नेपालले भारतबाट आउने १० लाख खोपका लागि रकम भुक्तानी भए पनि तत्कालै भारतबाट खोप र अन्य स्वास्थ्य सामग्री आउने सम्भावना नभएकोले चीनको सहयोग खोज्न सरकारलाई सुझाव दिए।‘यो सङ्क्रमण रोकथामको लागि नेपालको अर्को छिमेकी मित्र चीनबाट शुरुदेखि नै स्वास्थ्य  सामग्री  आपूर्ति  भइरहेको सकारात्मक हो । तर, चीनबाट सहजै आपूर्ति हुने स्वास्थ्य सामग्रीसमेत नेपाल ल्याउन सरकार गम्भिरताका साथ लागि परेको छैन। सरकारले चीनसँग वार्ता गरी आवश्यक अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डर, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री अविलम्ब आपूर्ति गर्न ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले विश्वमै सबभन्दा बढी जनसङ्ख्या भएको चीनले कोभिड–१९ सङ्क्रमण रोकथाममा प्राप्त गरेको अनुभव विश्वको लागि पनि अनुकरणीय भएको सन्दर्भ जोड्दै सङ्क्रमणलाई तदारुकताका साथ रोक्न नेपाल सरकारले चीन सरकारको अनुभव लिनु उपयुक्त हुने पनि बताए।  

सांसद सुवालले कतिपय अस्पतालले बिरामीस“ग बेड शुल्क र अन्य औषधी उपचारको खर्च दैनिक दशहजारदेखि पचास हजार रुपैंयासम्म असुलीरहेको जनगुनासो आएको हु“दा नेपाल सरकारका सम्वन्धित निकायहरूले ती अस्पतालहरूलाई नियमन गरी दोषीलाई कार्वाई गर्नु जरुरी रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘यो सङ्कटमा स्वास्थ्य सामग्री, औषधी र खाद्यान्नलगायतका सामग्री बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्नेहरूलाई कार्वाई हुनु पर्दछ।’

उनले सरकारले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाको समयमा कालिमाटी तरकारी बजारमा भीडभाड बढेको भन्दै कृषक बजार बन्द गरिएको तर पाटन, बालाजु र भक्तपुर औद्योगिक क्षेत्रमा अत्यावश्यक बस्तु बाहेकका टेक्सटाइल र प्लास्टिक उद्योगहरू चालू गर्दा पनि बन्द नगर्दा थपसङ्क्रमण फैलिने जोखिम बढेकोले ती उद्योगहरू बन्द गन पनि माग गरे।

प्रकाशित: २९ वैशाख २०७८ १०:४७ बुधबार

कोरोना संक्रमण नेपाल मजदुर किसान पार्टी