राजनीति

भट्टराई–यादव पक्षले विपक्षमा मत दिने ठाकुर–महतो पक्ष तटस्थ बस्ने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) दुई कित्तामा उभिएको छ। जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने भएको छ। तर महन्थ ठाकुर—राजेन्द्र महतो पक्ष भने विश्वासको मतको विषयमा तटस्थ बस्ने भएको छ। भट्टराई–यादव पक्षले आइतबार साँझ छुट्टै बैठक गरी विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको हो। 

आफूहरूले प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिन राख्ने प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको जसपा अध्यक्ष यादवले बताए। भट्टराई–यादव पक्षको बैठक बस्नुअघि भट्टराई निवास टोखामा जसपाका ६ शीर्ष नेताको बैठक बसेको थियो। उक्त बैठकमा जसपाका सांसदलाई ओलीको विपक्षमा भोट दिने या तटस्थ बस्ने विषयमा ह्विप नलाग्ने निर्णय भएको यादवले बताए। शीर्ष नेताहरूको बैठकपछि भट्टराई–यादव पक्षका नेताहरूको छुट्टै बैठक बसेको थियो। स्रोतका अनुसार शीर्ष नेताहरूको बैठकमा भट्टराई र यादवले प्रधानमन्त्री ओलीको विपक्षमा भोट दिनुपर्ने तथा ठाकुर र महतोले तटस्थ बस्नुपर्ने अडान राखेका थिए। फरकफरक धारणा आएपछि पार्टीका सांसदलाई ह्विप नलाग्ने निर्णय गरिएको नेताहरूले बताएका छन।

तर अध्यक्ष यादवले भने विपक्षमा भोट दिने या तटस्थ बस्ने भन्ने विषयमा मात्र ह्विप नलाग्ने निर्णय भएकाले पार्टीका सांसदहरूले पक्षमा भोट दिन नपाउने बताए। ‘ह्विप नलाग्ने भनेको विश्वासको मतको विपक्षमा भोट दिन या तटस्थ बस्ने विषयमा मात्र हो’, यादवले भने, ‘प्रधानमन्त्रीको पक्षमा भोट दिन जसपाका सांसदले पाउँदैनन्।’

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। जसमा पूर्वराष्ट्रिय जनता पार्टीका १६ र पूर्वसमाजवादीका १६ जना छन्। पूर्वराजपाका सांसद तथा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव भट्टराई–यादव पक्षमा गएका छन्। भट्टराई–यादव पक्षका नेताहरूले आफ्नो कित्तामा १८ जना सांसद रहेको दाबी गर्दै आएका छन्।

जसपा नेता महतोले आफूहरूले तटस्थ बस्ने निर्णय गरेको बताए। पार्टीका अर्का अध्यक्ष ठाकुर र नेता महतोले आइतबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरे। महतोेले विश्वासको मतको विषयमा तटस्थ बस्ने निर्णय प्रधानमन्त्रीलाई सुनाएको बताए। ‘पार्टीलाई फुटबाट जोगाउन हामी तटस्थ बस्ने निर्णय गरेका छौं’, महतोले भने, ‘यो निर्णय हामीले प्रधानमन्त्रीलाई सुनाएका छौं।’ यसैगरी कांग्रेस सभापति देउवालाई पनि ठाकुर–महतोले तटस्थ बस्ने निर्णय गरेको बताएका थिए। देउवाले ठाकुर र महतोलाई प्रधानमन्त्रीको विपक्षमा भोट दिन आग्रह गरेका थिए।

ठाकुर–महतो पक्षका एक नेताले भने सांसदहरूले प्रधानमन्त्रीको पक्षमा पनि भोट दिन सक्ने बताए। ‘सांसदहरूलाई ह्विप नलाग्ने निर्णय गरेका छौं। सांसदले विश्वासको मतको पक्षमा पनि भोट दिन सक्नु हुनेछ। उहाँहरूलाई कारबाही हुँदैन’, ती नेताले भने। स्रोतका अनुसार आइतबार दिउँसोसम्म ठाकुर–महतो एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको निर्णय कुरेर बसेका थिए। तर नेपाल पक्षको स्पष्ट निर्णय नआअएछि ठाकुर–महतो पक्षले तटस्थ बस्ने निर्णय गरेको हो। ‘माधव नेपाल पक्षका सांसदले ओलीको पक्षमा भोट दिए भने हामीले पनि दिन्छौं। त्यसबेला प्रधानमन्त्रीको पक्षमा बहमुत पुग्छ’, ठाकुर–महतो पक्षका एक नेताले भने, ‘तर माधव नेपाल पक्षले भोट दिनुअघि सामूहिक राजीनामा गरे या विश्वासको मतको पक्षमा भोट नहाले हामीले मात्र दिएर पुग्दैन। यस्तो अवस्थामा हामी तटस्थ बस्छांै।’ प्रधानमन्त्रीको चाहना पनि यस्तै रहेको दाबी ती नेताले गरे।

प्रकाशित: २७ वैशाख २०७८ ०१:३५ सोमबार

ठाकुर–महतो पक्ष तटस्थ