राजनीति

संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने, भोलि नै सबै प्रक्रिया सकाउने

विश्वासको मतको विषयमा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन सोमबार संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने व्यवस्था प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संक्रमण देखिएका सांसदलाई बाहिर राख्ने र मतदानको बेलामात्र भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने गरी बन्दोबस्त गरिने बताए। ‘संक्रमण देखिएका माननीयलाई छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउँदै मतदान गर्न लगाउने व्यवस्था गरी मतदानको बेलामात्र भित्र प्रवेश दिने निर्णय भएको छ’ प्रवक्ता पाण्डेले भने।

आइतबार बसेको समितिको बैठकले सोमबारका लागि निर्धारण गरिएको सम्पूर्ण प्रक्रिया सोही दिन सकाउने निर्णय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबारका लागि बोलाइएको छ। संसद अधिवेशनलाई लक्षित गरी गरिएको परीक्षणमा २८ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार न्यौपानेले जनाए।

प्रकाशित: २६ वैशाख २०७८ १०:३५ आइतबार

कोरोना संक्रमित प्रधानमन्त्री केपी शर्मा ओली