राजनीति

मतदाता संख्या १ करोड ६२ लाख

निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगले पुस ५ गतेसम्म मतदाता १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम लेखाएका नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा अद्यावधिक गरी बुधवार प्रकाशन गरेको हो।  

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनगरी आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। निर्वाचनको मिति घोषणा गरिएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो। पछि सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै तोकिएको निर्वाचन नहुने भएपनि आयोगले मतदाता नामावली अद्यावधिकको कामलाई भने अन्तिम रूप दिएको हो। ‘मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिनेछैन भन्ने व्यवस्था छ,’ प्रवक्ता श्रेष्ठले भने ‘अव हामीले मतदाता नामावली अद्यावधिकसमेत गरेका छौं।’ आयोगले अहिले अद्यावधिक भएको विवरणले भविष्यमा हुने निर्वाचनमा समेत सहज हुने बताए।

आयोगले सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार सबैभन्दा धेरै मतदाता क्रमश मोरङमा ६ लाख ६९ हजार ४ सय ९०, काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ र झापामा ६ लाख ९ हजार ३ सय ७४ छन्। सवैभन्दा कम मतदाता संख्या भने मनाङमा ५ हजार ९ सय ७६ र मुस्ताङमा ९ हजार ६ सय पुगेका छन्। देशभरका कुल मतदातामध्ये पुरुष ८२ लाख ११ हजार ९ सय ५४ महिला ८० लाख ३० हजार ९ सय ८४ र तेश्रो लिङ्गीको संख्या १ सय ७२ पुगेको छ।

मतदाता नामावली संकलन बिहीबारदेखि

प्रतिनिधिसभाको निर्वाचन घोषणा भएसँगै रोकिएको मतदाता नामावली संकलन बिहीबारदेखि देशभर पुनः सुरु हुने भएको छ। निर्वाचन आयोगले संसद् विघटन गरी प्रतिनिधिसभा निर्वाचन घोषणा भएसँगै स्थगीत भएको मतदाता नामावली संकलन संसद् पुनःस्थापनापछि पुनः सुचारु गर्न लागेको हो।  

आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन घोषणासँगै स्थगित भएको मतदाता नामावली संकलन प्रतिनिधिसभा पुनःस्थापनासँगै पुन सुचारु गरिने बताए। ‘मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिनेछैन भन्ने व्यवस्था छ,’ प्रवक्ता श्रेष्ठले नागरिकसँग भने, ‘सोहीअनुसार पुस ५ गते प्रतिनिधिसभा विघटन गरि निर्वाचन तोकिएपछि स्थगित भएको मतदाता नामावली संकलन प्रतिनिधिसभा पुनःस्थापनापछि बिहीबारदेखि देशभर सुचारु गरिदैछ।’ उनले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी काम सुरु गरिने जानकारीसमेत दिए।

प्रकाशित: ५ चैत्र २०७७ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App