राजनीति

प्रतिनिधिसभा पुनर्स्थापित हुँदैन, सूर्य चिह्न हाम्रै हो : नेम्बाङ

इलाममा बिहीबार आयोजित कार्यकर्ता भेटघाटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ । तस्बिर : भीम/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्। आफ्नो निर्णयलाई नै सदर गरी सर्वाेच्च अदालतको निर्णय आउनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेको र प्रधानमन्त्रीमाथि आफ्नो विश्वास रहेको भन्दै घुमाउरो शैलीमा नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापित नहुने संकेत गरेका हुन्।  

‘आफूले गरेको निर्णय सदर हुन्छ भन्नेमा प्रधानमन्त्री शतप्रतिशत मात्र होइन, २ सय प्रतिशत ढुक्क हुनुहुन्छ,’ गृहजिल्ला इलाममा बिहीबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्बाङले भने, ‘सर्वाेच्चमा विचाराधीन मुद्दामा म अहिल्यै केही भन्दिनँ तर प्रधानमन्त्रीप्रति मलाई पूर्ण विश्वास छ।’ सरकारले संसद्मा पेश गरेका विधेयकमाथि छलफलै नगराउनेदेखि प्रधानमन्त्रीका काममा बारम्बार अवरोध भएपछि संसद् विघटन गर्नुपरेको प्रधानमन्त्रीको स्पष्टोक्ति रहेको उनले बताए।  

नेम्बाङले पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्य पनि ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरे। ‘निर्वाचन आयोगले अस्ति गरेको निर्णयले नै पार्टीको आधिकारिकता ओली नेतृत्वको नेकपालाई देखाइसकेको प्रष्ट छ,’ उनले भने, ‘आयोगले दुवै अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ भनिसकेपछि पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल नै भएनन् र!’ नेम्बाङले आफूहरू सधैं पार्टी एकताको पक्षमा रहेको भन्दै अहिले पनि नेकपाको अर्काे अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल नै भएको बताए।  

नेम्बाङले कुनै पनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुने दाबी पनि गरे। ‘अहिले पार्टी फुटेको बेला यो सरकारले चुनाव गराउँदैन भनेको कताकता सुन्छु,’ उनले भने, ‘हामी जनताले जस्तो निर्णय दिन्छन्, शतप्रतिशत स्वीकार्न तयार छौं तर चुनाव चाहिँ हुन्छ।’ उनले चुनावको विरुद्धमा लाग्नु चाहिँ प्रतिगमन भएको बताए। ‘म चुनाव गराउँछु भन्नु संवैधानिक र लोकतान्त्रिक विधि हो, प्रतिगमन होइन,’ उनले भने, ‘जो चुनाव हुनु हुँदैन भन्दै छन्, चुनाव नगराउन दबाब दिँदै निर्वाचन आयोगलाई धम्क्याइरहेका छन्, त्यसले चाहिँ प्रतिगमन ल्याउने हो, त्यो चाहिँ प्रतिगमन हो।’

प्रकाशित: ६ फाल्गुन २०७७ ०६:१२ बिहीबार

प्रतिनिधिसभा पुनर्स्थापित नेपाल कम्युनिस्ट पार्टी