राजनीति

सगरमाथा, बुद्धजस्तै जनयुद्ध पनि देशको पहिचान : पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले जनयुद्ध पनि देशको पहिचान बनेको बताएका छन्। तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा नेकपा कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेको नेता पौडेलले नेपालको पहिचान जनयुद्ध पनि भएको बताएका हुन्। ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान विश्वको सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मभूमि भनेजस्तै जनयुद्ध पनि पहिचानका रूपमा स्थापित भएको छ,’ उनले भने।

नेता पौडेलले जनयुद्ध र जनआन्दोलनको दुबैको बलमा गणतन्त्र स्थापना भएको बताए। गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र जनआन्दोलन दुवैको उत्तिकै र महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो। जनताको सहयोगमा जनयुद्ध सफल भएको भन्दै उनले प्राप्त उपलब्धि रक्षाका लागि भइरहेको प्रतिगामी कदमविरुद्धको आन्दोलनमा पनि जनताको साथ रहने विश्वास व्यक्त गरे। नेता पौडेलले जनताको सहयोगमा जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र प्राप्त भए पनि त्यसको स्वामित्व नलिएका केपी ओलीको हातमा नेतृत्व गएकाले गणतन्त्र धरापमा परेको बताए। ‘कमरेड केपी ओलीको उदय जनयुद्ध विरोधीका रूपमा भयो,’ उनले भने, ‘हाम्रो प्रणाली एकातिर गयो, नेतृत्व अर्कोको हातमा पुग्यो, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको विरोधीका नेतृत्व भयो, स्वामित्व ग्रहण भएन, यसको परिणाम स्वरूप संसद विघटन भयो।’

नेता पौडेलले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका उपलब्धी रक्षाका लागि संयुक्त आन्दोलनको विकल्प नआएको बताए। संविधानको लागि, प्रणालीको लागि पनि दल, नागरिक समाजलगायत सबै मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ,उनले भने, ‘यसो गरिएन भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै उपलब्धि गुम्छ र देश दुर्घटनातर्फ जान्छ।’ उनले वैशाखपछि केपी ओलीले संकट लगाउने भन्दै त्यसपछि सेना आउने भविष्यवाणी गरे। सेना निस्केपछि ओलीसमेत पदबाट हट्ने उनले विश्लेषण गरे।

नेकपा केन्द्रीय सदस्य तथा कास्की सह–ईञ्चार्ज चुडामणि जंगलीले गणतन्त्र प्राप्तिमा जनयुद्धको महत्वपूर्ण योगदान रहेको बताए। गणतन्त्रको आन्दोलन चलिरहँदा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै खिसिट्यूरी गर्ने केपी ओली देशको नेतृत्वमा पुग्नु अभिसाप भएको बताए। ओली प्रतिगमनकारी भएको आरोप लगाउँदै उनले ओली विदेशी दलाल र पुँजीवादको मतियार बनेको टिप्पणी गरे।

प्रकाशित: २ फाल्गुन २०७७ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App