राजनीति

ओलीको चुनावी नारा भ्रममात्र : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् ।  

प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीको खुलामञ्चमा शनिबार आयोजित बृहत सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले चुनाव गराउलान्, लोकतन्त्र बलियो बनाउलान् भनेर कसैलाई भ्रम परेको छ भने त्यसबाट मुक्त भए हुन्छ । उनी चुनाव गराउन चाहँदैनन् ।’ लोकतन्त्र र गणतन्त्र समाप्त पार्न ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए ।

ओलीले देशलाई अस्तव्यस्त बनाउन चाहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘देश भाँडमा जाओस् केपीलाई मतलब छैन, लोकतन्त्र–गणतन्त्र समाप्त होस् केपीलाई कुनै चासो छैन ।’ उनले लोकतन्त्रका लागि गरिएका आन्दोलनमा ओली कहिल्यै नदेखिएको बताए । उनले ओलीमाथि कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लागेको आरोप पनि लगाए । ‘अहिले ओलीले एमाले–एमाले एक हौं भनेर प्रचार गरिरहेका छन् । यो ओलीको नक्कली प्रचार हो,’ उनले भने, ‘ओलीलाई कम्युनिस्ट पार्टीसँग कुनै मतलब छैन ।’ मन्तव्यको अधिकांश समय प्रधानमन्त्री ओलीको आलोचना गरेका अध्यक्ष नेपालले एक प्रसंगमा तत्कालीन एमालेलाई आफूले १५ वर्ष र १२ वर्ष झलनाथ खनालले नेतृत्व गरेर हाँकेको बताए । उनले ओलीले सधैं पार्टीलाई समस्यामा पारेको दोषारोपण गरे ।

अध्यक्ष नेपालले नेकपाको चार सय ४१ सदस्यीय केन्द्रीय समितिका तीन सयजना भन्दा बढी सदस्य आफूहरूसँग भएको दाबी गर्दै आधिकारिक नेकपा आफूहरू नै भएको बताए । उनले भने, ‘हामीहरू नै आधिकारिक भएकाले चुनावचिह्न सूर्य पनि हाम्रै हो ।’  

अध्यक्ष नेपालले ओलीले असंवैधानिक ढंगले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरे । ‘प्रतिनिधिसभाको पुनर्वहाली हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ,’ उनले भने, ‘त्यसबाहेक अर्को कुनै विकल्प छैन ।’ उनले ओली युग समाप्त भइसकेको बताए । ‘केपी ओली अस्ताउँदो सूर्य हुन्, हामी उदाउँदो सूर्य हौं ।’  

निर्मलाको हत्यारालाई कारबाही नहुनु दुखद

अध्यक्ष नेपालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाउँदै दोषीलाई कारबाही गर्न प्रधानमन्त्री ओलीले चासो नदेखाएको बताए । ‘निर्मलाको हत्या घटनाले हामीलाई चिन्तित बनायो,’ उनले भने, ‘हामीले बलात्कारीलाई दण्डित गर्नुपर्छ, यसलाई पार्टी बैठकमा छलफलको विषय बनाउनुपर्छ भन्दा पनि केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन ।’ कम्युनिस्ट पार्टीको सरकार भएर पनि निर्मला हत्याका दोषीलाई कानुनी कारबाही गर्न नसक्नु लाजको विषय भएको उनले बताए ।  

संसद् होइन, ओली सरकार भंग : दाहाल

विरोध सभालाई सम्बोधन गर्दै नेकपा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको दाबी गरे । उनले भने, ‘संसद् भंग भएकै छैन ।’ प्रधानमन्त्री ओलीले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरे भन्दैमा त्यसलाई मान्नु जरुरी नभएको पनि उनले बताए । ‘केपी ओलीले संसद् मर्‍यो भनेर घोषणा गरेका छन् तर संसद् मरेको छैन, संसद् जीवितै छ,’ दाहालले भने, ‘ओलीलाई संसद् विघटन भयो भन्ने कुनै अधिकार पनि छैन र संविधानले विघटन गर्ने अधिकार पनि दिएको छैन ।’ आफूहरू संविधान र लोकतान्त्रिक मान्यता अनुसार चल्न खोजेको दाबी गर्दै उनले संसद् नभई ओली सरकार भंग भएको बताए ।  

दाहालले सर्वोच्च अदालतमा पुगेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संविधान अनुसार निर्णय आउनेमा आफू विश्वस्त रहेको बताए । ‘यदि यो मुद्दा सर्वोच्च अदालतमा पुगेको हुँदैनथ्यो भने हामी संसद्को बैठक बोलाउँथ्यौं,’ दाहालले भने, ‘त्यहींबाट केपी ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ ।’ प्रतिनिधिसभाका दुई तिहाइ सदस्य विघटनको विरोधमा रहेको दाबी गर्दै उनले भने, ‘सभामुखले संसद् बोलाउन सक्छन्, संसद्को दुई तिहाइ बहुमतले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने अधिकार राख्छ ।’  

दाहालले विगतका संविधानभन्दा फरक अहिलेको संविधानमा राजकीय अधिकार र सार्वभौमसत्ता जनतामा रहेको बताए । ओलीले संविधान मात्रै नभई नेपाली जनताको सार्वभौम अधिकारमाथि पनि कुल्चिएको उनले बताए । उनले भने, ‘कलंकको टीका लगाएर केपी ओली खलनायक साबित भएका छन् ।’  

सभालाई स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीमबहादुर रावल, सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, लक्ष्मण जोशी, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित: १८ माघ २०७७ ००:४९ आइतबार

नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओली