नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले लुम्बिनी प्रदेशका पार्टी कमिटीहरु पुनर्गठन गरेको छ । ओली पक्षको बिहिबार बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव समुहका नेताहरुलाइ निकालेर नेकपाको प्रदेश र जिल्ला कमिटीहरु पुनर्गठन गरेको हो ।
लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा लिला गिरीलाइ चयन गरेको छ । रुपन्देहीका गिरी लुम्बिनी प्रदेश सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि हुन । नेकपा दुइ समुहमा बाँडीनु अघि सम्म लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा प्रचण्ड–माधव समुहका नेता ओनसरी घर्ती थिइन । प्रचण्ड–माधव समुहले घर्तीकै अध्यक्षतामा बैठक बसेर गत महिना नै प्रदेश कमिटीको इन्चार्जबाट शंकर पोखरेललाइ हटाएको थियो । अहिले ओली समुहले घर्तीलाइ हटाएर गिरीलाइ जिम्मेवारी दिएको छ ।
ओली पक्षको प्रदेश कमिटी बैठकले प्रदेशका दश जिल्लाको नेतृत्व पनि हेरफेर गरेको छ । नवनियुक्त प्रदेश अध्यक्ष लिला गिरीका अनुसार रुपन्देहीमा यसअघिकै नेता शिवराज सुवेदीले संयोजकको जिम्मेवारी पाएका छन । सहसंयोजकमा तेजेन्द्र केसी तथा सचिवमा अनुप वराललाइ चयन गरीएको छ । पश्चिम नवलपरासीमा यसअघिका भविश्वर तिवारी दाहाल नेपाल समुहमा गएपछि ओली पक्षबाट दिपेन्द्र अधिकारीले जिल्ला संयोजकको जिम्मेवारी पाएका हुन ।
कपिलबस्तुमा साविककै झबिलाल पोखरेललाइ संयोजक तोकीएको छ । सहसंयोजक डम्मर शर्मा र सचिव धर्म भुसाल छन । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा पुरानो कमिटीका टीकाराम खड्का सहित पदाधिकारीहरु प्रचण्ड–माधव तीर लागेपछि ओली पक्षमा नयाँले जिम्मेवारी पाएका छन दाङको संयोजकमा हुकुम वहादुर बस्नेत र सचिवमा मनोहर बुढाथोकी छन ।
बाँकेका यसअघिका संयोजक आइपी खरेल दाहाल–नेपाल समुहमा गएकाले ओली पक्षबाट सुर्य ढकाललाइ संयोजकको जिम्मेवारी दिइएको छ । सहसंयोजक किस्मत कक्षपती र सचिव प्रमोद धिताललाइ बनाइएको छ । बर्दियामा लालबहादुर श्रेष्ठ संयोजक,शालिकराम अधिकारी सहसंयोजक र पदम ढकालले सचिवको जिम्मेवारी पाएका छन । बर्दियामा यसअघिका भवनकुमार थारु दाहाल–नेपाल समुहमा लागेपछि श्रेष्ठले ओली समुहबाट जिम्मेवारी पाएका हुन । प्युठानमा यसअघिका तुल्सीराम शर्मा नै संयोजक सहितका पदाधिकारी छन ।
अर्घाखाँचीमा बिहिबार संयोजक चुनीएका ओली पक्षका चेतनारायण आचार्य पुरानै हुन भने सचिवमा तोजबहादुर रायमाझी छन । गुल्मीमा पनि यसअघिकै मधुकृष्ण पन्त संयोजक भए । गुल्मीको सहसंयोजकमा बालसिंह काउचा र सचिव धर्मबहादुर विक चुनीएका छन । पाल्पामा यसअघिकै नारायणप्रसाद आचार्यलाइ संयोजक र ओमबहादुर घर्तिलाइ सचिवको जिम्मेवारी दिइएको छ ।
रोल्पा र पुर्वी रुकुममा प्रचण्ड–माधव समुहको पकडमा रहेका जिल्ला हुन । यी जिल्लाका पदाधिकारी सहितका अधिकाँस जिल्ला नेता प्रचण्ड–माधव समुहमा खुलीसकेको बताइन्छ । प्रदेशका बाह्र जिल्ला मध्ये ६ जिल्लाका अध्यक्ष ओली पक्षमा र ६ जिल्लाका अध्यक्ष दाहाल–नेपाल पक्षमा खुलेका थिए ।
प्रकाशित: १६ माघ २०७७ ११:३३ शुक्रबार