राजनीति

प्रदेश गृहमन्त्री भण्डारीको टोली राहत लिएर गोठीगाउँ

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी अग्नि पीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरमा विहानै राहत लिएर गोठीगाउँ पुगेका हुन्। राहत लिएर मन्त्री गाउँमा पुग्दा अग्नि पीडित निकै खुसी भएका थिए।  

आगलागीका कारण अन्नपात सबै नष्ट भइसकेको थियो। यो राहतले यहाँका स्थानीयलाई निकै राहतको अनुभूति दिलाएको छ, स्थानीय मोतिलाल रोकायाले भने,‘अव अग्नि पीडितलाई आवास निर्माणको लागि पनि सहयोग चाहिएको छ। प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने छ। यही अपेक्षा गरेका छौँ।’

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल रोकाया पनि घटनास्थलमा पुगेका हुन्। गत मंगलबार भएको आगलागीबाट विस्थापित पीडितहरुका लागि तत्काल हेलिकोप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ पुगको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।  

उनले भने,‘अग्नि पीडितको राहतका विषयमा मन्त्रालय संवेदनशिल छ। मन्त्री गाउँमै पुगेकोले बास्तविक अवस्थाको बारेमा समेत जानकारी हुनेछ। यो कार्यले आगामी दिनमा योजना बनाउन सहज हुनेछ।  

ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर गएको सूचना अधिकारी रोकायाले बताए। कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाईमा पर्ने गोठीगाउँ बासीहरुका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको हो।  

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका हुन्। विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेपनि विकट भूगोल र सुख्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरुपले खरानी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ माघ २०७७ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App