राजनीति

अदालतलाई नधम्क्याउन ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन्। ओलीले चार प्रधानन्यायधीशले प्रतिनिधिसभा विघटनलाई संविधानविपरीत भन्दै वक्तव्यमार्फत सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाउँदै सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका छन्।  

नेकपाका अध्यक्षसमेत रहेका ओलीले शनिबार काठमाडौंमा आफूनिकट युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले अदालतलाई प्रभावित पार्ने, धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन।’

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनबाहेक अर्को अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्दै सो कदम असंवैधानिक रहेको जनाएका थिए।‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ’, वक्तव्यमा उल्लेख छ। सोही वक्तव्यको आलोचना गर्दै ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्ने प्रयास स्वीकार्य नहुने बताएका हुन्। उनले आफूहरूले कहिल्यै अदालतको निर्णयलाई लिएर नाराजुलुस नगर्नेसमेत बताए।  

ओलीले संविधान अनुसारको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु (अति जान्नेसुन्ने) निस्केर अरू इजलास माग गर्न थालेको बताए। ‘केही अजासु निस्केर संवैधानिक इजलासले हुँदैन भन्दैछन्, कुन संविधानले भन्यो ? उनीहरूले जे भन्यो त्यही फैसला हुनुपर्ने ? उनीहरूले जुन इजलास माग्यो त्यही हुने हो भने किन चाहियो अदालत ?’ ओलीले भने। ओलीले प्रतिनिधिसभा पुनस्र्थापना नहुने र तोकिएकै मितिमा चुनाव हुने बताए। ‘विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन। वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ उनले भने।  

भेलालाई सम्बोधनका क्रमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालप्रति निकै आक्रामक बनेका ओलीले कोही व्यक्तिको मृत्यु होला र त्यसपछि पद पाउँला भनेर बसेको बताए। ओलीले नेपालमाथि पदलोलुपको आक्षेप लगाउँदै उनको भविष्यवाणी पनि नमिल्ने बताउँदै भने ‘भविष्यवाणी पुग्ने भए म उहिल्यै मरिसक्थें। जब म अप्रेसन गर्न जान्थें, यिनीहरूको कहिल्यै उज्यालो नहुने चेहरा पनि उज्यालो हुन्थ्यो। जब म तंग्रिन्छु अनि झ्याप्प बत्ती गएजस्तै अनुहार हुन्थ्यो। मरे प्रधानमन्त्री र अध्यक्ष हुन्थ्यौं भन्ने थियो होला।’ ओलीले मदन भण्डारीको मृत्युपछि आफूले नेपाललाई पार्टीको महासचिव बनाइदिएको बताए। उनले आफूले नै नेपाललाई पार्टीमा संगठित गरेको समेत बताए।

ओली लुकेका सर्प हुन् : खनाल  

नकेपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई लुकेर बसेको सर्पको संज्ञा दिएका छन्। उनले ओलीलाई विश्वास गरेर अध्यक्ष पद दिएको तर उनी लुकेर बसेको सर्पको रूप भएर निस्किएको आरोप पनि लगाए। दाहाल–नेपाल समूहको सम्पर्क समन्वय कमिटीको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता खनालले भने, ‘ओलीमा सत्ता कसरी प्राप्त हुन्छ, प्रधानमन्त्री र अध्यक्ष पद कसरी कब्जा गर्न सकिन्छ भन्ने मात्र ध्यान भयो, पार्टीका केही मानिसले चिन्नुभएको रहेछ तर सबैले चिन्नुपर्ने रहेछ। सर्प लुकेर बसेको हो कि होइन भनेर सबैले चिन्नुपर्ने थियो, अब चिनियो।’  

खनालले आफूहरूले विश्वासका साथमा अध्यक्ष र प्रधानमन्त्री बनाएर ओलीलाई देश र पार्टीको अभिभारा सुम्पिनु गलत भएको बताए। खनालले प्रधानमन्त्री ओलीले जनताको अपेक्षाविपरीत काम गरेको र पार्टीलाई भर्‍याङमात्र बनाएको आरोप लगाए। पूर्वएमालेको एउटा गुटलाई मात्र ओलीले काखी च्यापेको आरोप पनि खनालले लगाए। ‘ओली तानाशाह र बुर्जुवाहरूको नेता भएर कुशासन र भ्रष्टाचारका काण्डहरू आएपछि हामीले सचिवालयमा प्रश्न उठाउन थालेका हौं, ओलीले सबै शक्तिकेन्द्र आफूमातहत राखेका छन्। एउटा कम्युनिस्ट नेताले यस्तो किन गर्नुपर्‍यो,’ खनालले भने। उनले पार्टीका बैठकमा ओलीले सुरुदेखि नै विवादैविवाद खडा गरेको आरोप लगाउँदै भने, ‘हामी कैयौं रात सुत्न सकेनौं, हामीलाई चिन्ता भयो तर पनि पार्टीभित्रको कुरा मिलाएर लानुपर्छ भनेर संयमित रूपमा अघि बढेका थियौं तर ओली उल्टो बाटो हिँड्न थाले।’  

कार्यक्रममा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध आगामी माघ २३ गते काठमाडौंमा १ लाख मानिस ल्याएर शक्ति प्रर्दशन गर्ने बताए। त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरूलाई अहिल्यैबाट व्यवस्थापनमा जुट्न निर्देशन दिए। उनले प्रतिनिधिसभा विघटन सिंगो राजनीतिक प्रणाली र परिवर्तनमाथिको आक्रमण भएको बताउँदै भने, ‘यो विघटनमा मात्रै सीमित नरहन सक्छ।’ सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अधिकार दिएको भन्दै उनले सर्वोच्चले केही गर्ला भनेर भन्न नपर्ने र संविधानविपरीत गएर निर्णय भए त्यसबेला संविधानको कुनै पनि धारा काम नलाग्न नसक्ने बताए।

नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा विघटन गर्ने कदम समाजवादको यात्रामा बाधक भएको बताए। उनले ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलनको विकल्प नभएको पनि बताए। ‘यसले समाजवादतर्फको नेपालीको यात्रालाई असफल पार्ने काम गरेको छ, त्यसको सबै दोष ओली नै लिनुपर्छ,’ पाण्डेले भने। उनले प्रधानमन्त्री ओलीले आवेगमा आएर प्रतिनिधिसभा विघटन गरेको बताए।

प्रकाशित: २६ पुस २०७७ ००:४८ आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत प्रतिनिधिसभा विघटन