राजनीति

‘मृत्युशय्यामा रहेको मान्छेले झुटो बोल्दैन, कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर छन्’

कमानसिंह लामा

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मृत्युका बेला कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक रहेको बताएका छन्।  

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वराजदूत लामाले कोरोना संक्रमणबाट आफ्नो मृत्यु हुनु (बुधबार राति) भन्दा केही दिनअघि आफ्नी पत्नीलाई सम्बोधन गर्दै आर्थिक लेनदेनका विषयमा फेसबुकमा हृदयविदारक स्टाटस लेखेका थिए।  

त्यसयता सञ्चारमाध्यममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग आर्थिक कारोबारका विषयमा कमानसिंहले गरेको कुराकानीको अडियो पनि सार्वजनिक भएको छ। तर त्यसमा आफूले मध्यस्थताको भूमिका मात्र निर्वाह गरेको आफ्नो संलग्नता नरहेको दाबी श्रेष्ठले गरेका छन्। 

‘भनिन्छ- मृत्युशय्यामा रहेको मान्छेले झुटो बोल्दैन,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘मृत्युशय्याबाट कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्। जतिसुकै तर्क/कुतर्क गरे पनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनसक्दैन। चेतना भया !’

 

यो पनि पढ्नुहोस्

निधनअघि पत्नीलाई पूर्वराजदूत कमानसिंह लामाको हृदयविदारक पत्र : म मरेँ भने काजक्रियामा सामेल नहुनू !

 

प्रकाशित: २६ मंसिर २०७७ १५:१४ शुक्रबार

डा. बाबुराम भट्टराई कमानसिंह लामा