राजनीति

दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै दाहाललाई सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि दाहाललाई जानकारी गराएका थिए । ‘दुई अध्यक्षबीच लामै कुराकानी भयो । उहाँहरू दुवैले व्यत्तिगत कुराकानी पनि गर्नुभयो, पार्टीको अवस्था र जनताको चासोबारे पनि कुराकानी गर्नुभयो । साथै पार्टी एकताको विषयमा पनि कुराकानी भएको छ । यसले सकारात्मक परिणाम ल्याउन अपेक्षा गरेका छौं’, बालुवाटारनिकट एक नेताले भने । उनका अनुसार पात्र र प्रवृत्तिबारे पनि कुराकानी भएका छन् जसले गर्दा आगामी दिनमा सबै नेताहरूको व्यवहारबारे सबैलाई जानकारी हुनेछ ।

आफूहरू दुईजना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता कार्यकर्ताको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । दाहालले मुन्टोमात्रै हल्लाएको केही नबोलेको स्रोतले बतायो । ‘प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव राख्दा दाहालले हाँसेर मुन्टोमात्रै हल्लाउनुभयो, प्रतिक्रिया दिनुभएन’, स्रोतले भन्यो । कात्तिक २८ गतेपछि अध्यक्षद्वयको भेट मंसिर १८ मा आधा घण्टा भएको थियो । त्यसपछि बुधबारमात्र भएको हो । बुधबारको भेटमा पनि प्रधानमन्त्री ओलीले दुई अध्यक्ष मिलेर पार्टी एकीकरण भएका कारण अहिले पनि दुवै अध्यक्ष मिल्दा समस्या समाधान हुन्छ भनेका थिए । उनले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमको नाम नलिई अरु विषय छाडौं, अध्यक्षद्वयको सहकार्य आवश्यक छ, राष्ट्रले पनि यही खोजेको छ भन्दै सहकार्यको प्रस्ताव राखेको स्रोतको दाबी छ ।  

प्रधानमन्त्री ओलीले पार्टीका बैठकहरूमा आफूले हस्तक्षेप नगर्ने र महाधिवेशनमा एकल अध्यक्षको प्रस्ताव राखेर जाने विषय पनि उठाएका थिए ।  

दाहालले भने विवाद पार्टीको बैठकमा पुगिसकेकाले त्यहींबाट समाधान खोजौं, मिल्ने भए पनि त्यहींबाट मिलौं, नमिल्ने भए पनि त्यहींबाट फैसला गरौं भनेका थिए । त्यसपछि ओलीले पार्टी विभाजन गर्ने दिशातर्फ कोही पनि उन्मुख हुन नहुने भन्दै जोजोले पार्टीलाई एकताबद्ध बनाएको हो उनीहरूले पार्टीको नेतृत्व गर्न सक्छन अरुले सक्दैनन् भनेर दाहाललाई फकाउने कोसिस गरेका थिए ।

प्रधानमन्त्री ओलीले दाहालसँग सहमतिका लागि पटकपटक प्रयास गरिरहेका छन् । मंसिर १९ गते साँझ टेलिफोन वार्तासमेत गरेका थिए । त्यसपछि बुधबार उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । ओली निकटका नेताहरूले पनि दाहालसँग धेरैपटक सहकार्यको प्रस्ताव राखिसकेका छन् । तर दाहालले खासै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित: २५ मंसिर २०७७ ००:३० बिहीबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली पुष्पकमल दाहाल सहकार्यको प्रस्ताव