राजनीति

सिसिएमसीमा दुई मन्त्रीबीच विवाद, उद्धार उडानमा रोक लगाएको भन्दै मन्त्री भट्टराईकाेआपत्ति

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन पाएनन् । घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू निराश भएर त्यहाँबाट फर्कनुप-यो । जहाज रित्तै फर्कियो । यस विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच विवाद भयो ।

यसअघि सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने निर्णय गरेको थियो । तर सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार ग-यो । घर फर्कन दुबई विमानस्थलमा तयारी अवस्थामा बसेका दुई सय ६६ नेपाली सिसिएमसीको यस्तो पत्राचारका कारण उड्न पाएनन् । सिसिएमसीको निर्णयको पर्यटनमन्त्री योगेश भट्टराईले विरोध गरेपछि उनी र रक्षामन्त्री पोखरेलबीच विवाद भएको छ ।

पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान गर्न रोक लगाएको हो । स्रोतका अनुसार संयोजक पोखरेलले सरोकारवाला अन्य पक्षसँग समन्वय नगरी विदेशबाट उद्धार उडान गर्न रोक लगाएका हुन् । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सिसिएमसी गठन गरेको हो ।

सिसिएमसीले अनुमति नदिँदा मंगलबार दुबई विमानस्थलबाट दुई सय ६६ नेपाली घर आउन पाएनन् । जहाज रित्तै काठमाडौं फर्कियो ।

सिसिएमसीको मंगलबार बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सिसिएमसीले उडान भर्न रोक लगाउँदा सरकारको छविसमेत बिग्रेको तर्कसहित विरोध गरेका थिए । उनले सिसिएमसीले सरोकारवाला पक्षसँग समन्वय नगरी उद्धार उडानमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए । उनी पनि सिसिएमसीका सदस्य हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मुलुकमा कोरोना संक्रमण फैलिएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस प्रस्ताव ल्याउन सिसिएमसीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम मंगलबार सिसिएमसीको बैठक बसेको थियो । सो बैठकमा मन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन कुन आधारमा रोक लगाइएको हो ? उनीहरू विमानस्थलबाट फिर्ता हुनुपर्ने अवस्था किन आयो ? भन्दै पोखरेलसँग प्रश्न गरेको स्रोतले बतायो ।

सिसिएमसीले अनुमति नदिँदा दुबई विमानस्थलबाट २६६ नेपाली श्रमिकको उद्धार हुन नसकेपछि पर्यटनमन्त्री भट्टराईले बैठकमा आपत्ति जनाएका हुन् । ‘सरकारको स्पिड एकातिर छ, हाम्रो काम गर्ने शैली अर्कोतिर छ । सरकारले विदेशबाट अढाई सय नेपालीलाई ल्याएर घर पठाउने वातावरण बनाउन सक्दैन ? यो कस्तो प्रकारको समन्वय हो ? के गर्न खोजेको हो ? कसको पक्षपोषण गर्न खोजिएको हो ? सबै प्रक्रिया पुगेका नेपालीलाई विमानस्थलमा अलपत्र पारेर जहाज किन फिर्ता आयो ? के हामीले विदेशी नागरिक ल्याउन लागेका थियौं’, पर्यटनमन्त्री भट्टराईले बैठकमा प्रश्न गरेका थिए ।

सिसिएमसीले अनुमति नदिएछि स्वदेश फर्कन दुबई विमानस्थल पुगेका नेपालीलाई नलिई नेपाल एयरलाइन्सको जहाज मंगलबार रित्तै फर्केको थियो । उनीहरूले स्वदेश आउन पिसिआर परीक्षणसहित कानुनी प्रक्रिया पूरा गरेका थिए । स्रोतका अनुसार उडान अनुमतिका लागि पर्यटनमन्त्री भट्टराईले मंगलबार पटकपटक सिसिएमसीका कर्मचारीलाई अनुरोध गर्दा उनीहरूले संयोजक पोखरेलको निर्देशन नआएको जबाफ दिएका थिए । अनुमति नपाएपछि नेपाल एयरलाइन्सको जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो ।

नेपाल एयरलाइन्सको जहाज सोमबार राति २१३ यात्रु लिएर दुबई गएको थियो । पर्यटन मन्त्रालय स्रोतका अनुसार सोही जहाजबाट स्वदेश फर्किन २६६ नेपाली दुबई विमानस्थल पुगेका थिए । जहाजले ल्याउन नमानेपछि उनीहरू निराश भएर विमानस्थलबाट फर्केका थिए । ‘विमानस्थल पुगेका नेपालीलाई अपमानजनक ढंगले फिर्ता गर्दा सरकारमा रहेका हामीले जनतालाई के जवाफ दिने ? के यो उनीहरुका लागि पनि बनेको सरकार होइन ? विदेशमा रहेका नेपाली श्रमिकका लागि यो सरकार बनेको होइन भनेर मलाई सिसिएमसीबाट लेखिदिनुस्’, बैठकमा मन्त्री भट्टराईले भनेका थिए ।

स्रोतका अनुसार यस विषयलाई लिएर मन्त्री पोखरेल र भट्टराईबीच विवाद भएको थियो । भट्टराईको आक्रोशपछि सिसिएमसीको मंगबारको बैठक कुनै निर्णय नगरी टुंगिएको स्रोतको भनाइ छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा उद्धार उडान स्थगित गर्ने विषयमा कुनै छलफल भएको थिएन तर त्यसैदिन साँझ सिसिएमसीले पत्रचार गरेर उडान अनुमति रोकेको थियो । सिसिएमसीले भदौ १ गते पराराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै विदेशबाट यात्रु नल्याउन निर्देशन दिएको थियो । कोरोना संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको, स्थानीय तहहरूले निषेधाज्ञा जारी गरेको जस्ता कारण देखाएर सिसिएमसीले उद्धार उडान रोकेको हो । ‘नेपालमा पछिल्लो समय बढ्दो कोराना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहले निषेधाज्ञा जारी गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टिन सुनिश्चित हुनेगरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गरिदिने व्यवस्थाका लागि अनुरोध छ’, सिसिएमसीले पर्यटन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । सो पत्र पाएपछि मन्त्री भट्टराईले पटकपटक उडान अनुमति दिन सिसिएमसीलाई आग्रह गरेका थिए । तर अनुमति नपाउँदै जहाज रित्तै फर्कनुपरेको थियो ।

‘ती नेपालीले तीन महिनाअघि घर फर्कन टिकट काटेका थिए । नेपाल एयरलाइन्सको टिकट लिएका र अन्य सबै प्रक्रिया पूरा गरेका उनीहरूलाई ल्याउन हामीले सिसिएमसीलाई पटकपटक अनुरोध ग¥यौं तर उडान अनुमति आएन’, नेपाल एयरलाइन्स स्रोतले भन्यो । सिसिएमसीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, रक्षा, गृह, आपूर्ति र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

दुबई विमानस्थल पुगेका नेपालीले घर आउन नपाएपछि नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । सिसिएमसीको निर्णयसँगै मलेसियाबाट काठमाडौंका लागि तय गरिएका तीनवटा चार्टड उडान पनि रद्द हुने भएका छन् । मलेसिया दूतावासले १९, २० र २१ अगस्टका लागि तय गरेको उडानबाट घर आउन त्यहाँ रहेका नेपालीले टिकट काटिसकेका थिए । पछिल्लो निर्णयअनुसार अगस्ट १९ को उडान रद्द भएको छ भने । बाँकी दुई उडान पनि नहुने अवस्था देखिएको छ ।

प्रकाशित: ४ भाद्र २०७७ ०२:५० बिहीबार

सिसिएमसी