राजनीति

ओलीको आत्मआलोचना

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादलाई तत्काल मत्थर पार्न उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले उपयुक्त समयामा गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने निर्णय गरेको हो। 

नेकपाभित्र आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले १७ वैशाखमा बसेको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। सो प्रस्तावमा आफू अडिग रहेको जनाउँदै ओली शनिबारको बैठकमा पनि गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने र त्यहींबाट प्रधानमन्त्री बनाउने बाटो खोल्ने बताएका थिए।  ओलीले आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन षड्यन्त्र भएको भन्दै  प्रधानमन्त्री पद छाड्नुपर्ने भए गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सन्जय गौतमसँग पराजित भएका थिए। प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रतिनिधिसभा सदस्य बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले कुनै न कुनै निर्वाचन क्षेत्रबाट गौतमलाई चुनाव लडाएर जिताउने सहमति भएको बताइएको छ।

ओलीले गौतमलाई प्रतिनिधिसभामा ल्याउने र चुनावी सरकारको प्रधानमन्त्री बनाउनेगरी मनाएको स्रोतको दाबी छ। 
 

स्रोतका अनुसार गौतमका लागि पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दलबहादुर रानालाई राजीनामा गराउने वा कास्कीबाट निर्वाचित खगराज अधिकारीलाई राजीनामा गराउने भन्नेबारे टुंगो लागिसकेको छैन। बैठकमा महासचिव विष्णु पौडेलले पाल्पा र कास्कीमध्ये एक क्षेत्रलाई खाली गराउन सकिने जानकारी गराएका थिए। उनले पाल्पाबाट चुनाव जित्न अलि सहज हुने भएकाले रानालाई प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन लगाउने प्रस्ताव राखेको स्रोतको दाबी छ। 

ओलीले गौतमलाई प्रतिनिधिसभामा ल्याउने र चुनावी सरकारको प्रधानमन्त्री बनाउनेगरी मनाएको स्रोतको दाबी छ। ‘तपाईंलाई अरुले सांसद र प्रधानमन्त्री दुवै बनाउँदैनन् मैले नै बनाउने हो, तपार्इं किन दायाँबायाँ गर्नुहुन्छ’, ओलीले गौतमलाई छुट्टै राखेर भनेको स्रोतको दाबी छ। बैठकमा महासचिव पौडेलले गौतमलाई सांसद बनाउन पहल गर्ने विषयमा राखेको प्रस्तावलाई अन्य नेताले प िसमर्थन गरेका थिए। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा आफूले गरेको प्रस्तावमा अडिग रहेको भन्दै गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन कुनै एक निर्वाचन क्षेत्र खाली गराउन पहल गर्ने बताएका थिए। 

‘गौतमलाई प्रधानमन्त्री बनाउने विषय पनि सांसद बनाउने निर्णयसँग अन्तर्निहित छ। उहाँलाई पहिला सांसद बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने। उनका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्न राखेको प्रस्ताव नेपाल स्वयंले अस्वीकार गरेको र त्यो विषय अब छलफलमा आउने छैन। ‘पार्टीलाई एकताबद्ध राख्ने, विधि र कम्युनिस्ट मूल्य मान्यताअनुसार चलाउने, पार्टीको मार्गनिर्देशनमा सरकार चलाउने र सरकार समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’, प्रवक्ता श्रेष्ठले भने। 

श्रेष्ठका अनुसार पार्टी र सरकारबाट जेजति कमीकमजोरी भए त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले  आत्मालोचना गरेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र अरु नेताले पनि आत्मालोचना गरेर अगाडि बढ्ने निर्णय भएको छ। बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको छ। 

बैठकमा वरिष्ठ नेता नेपालले सही नियतसाथ प्रधानमन्त्रीबाट प्रस्ताव आएको भए रामै्र हुने तर धोका भए त्यसले सकारात्मक परिणाम नदिने धारणा राखेका थिए। ‘नेताहरुलाई बेग्लाबेग्लै आश्वासन दिने र उधारो सहमति गर्ने विषय विगतदेखिकै धोका दिने क्रमको निरन्तरता हो। अब धोका दिने क्रमको निरन्तरतालाई भंग गरी सही ढंगले प्रस्ताव कार्यान्वयनतर्फ लाग्नुपर्छ। पार्टीभित्र हुने सहमति र समझदारी कार्यान्वयन गरी पद्धति बसाउन सकेमात्र आजको आत्मआलोचनाले मूर्त रुप लिनेछ’, नेपाललाई उद्धृत गर्दै स्रोतले जनाएको छ। 

बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्ति संघर्षलाई सहमतिका आधारमा टुंग्याउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। बैठकले आगामी  २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले सरकार र पार्टीका कामकारबाहीमा भएका कमीकमोजोरीमा आत्मालोचना गरेका थिए। स्थायी कमिटी बैठकअघि २४ गते पुनः सचिवालय बस्नेछ। 

पार्टी अब एक भएर अघि बढ्ने जानकारी दिँदै अर्का वरिष्ठ नेता झलनाथ खनालले सरकार पार्टीले देखाएको बाटोमा हिँड्छ र हिँड्नुपर्छ भन्ने कुरा बैठकमा भएको बताए। खनालका अनुसार वैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा पार्टी र सरकारबीच सम्बन्ध सुधार गरेर जाने विषयमा अझ व्यापक छलफल हुनेछ। 

नेपाललाई ‘टियर ग्यास’
सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालसँग छुट्टै भेट गरेका थिए। सो भेटमा ओलीले आफूले नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव र गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव राखेर दाहाललाई सहज बनाएको भन्दै फकाएका थिए। ‘नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव अघि सार्दा उनले नमान्ने प्रष्ट थियो। मैले त्यो एक प्रकारकोे टियर ग्यास हानेको हुँ। जसले गर्दा तपार्इंलाई सहज भएको छ।

तपाईं र म नमिलीकन पार्टी र सरकार दुवै असफल हुन्छ। त्यसकारण मिलौं’, ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो। दाहालसँगको भेटमा ओलीले विदेशी शक्तिले पार्टी फूटाउन खोजेको बताउँदै यसले आफूहरू दुवैको भलो नगर्ने बताएका थिए। उनले नेपाललाई इंगित गर्दै केही साथीहरुले आफूलाई मात्र केन्द्रमा राखेर कुरा गर्न खोजेकाले समस्या उत्पन्न भएको बताएका थिए। उनले पश्चिमा देशहरुले पार्टी फूटाउन खोजेको सुनाउँदै पार्टी चलाउने सबै अधिकार दाहाललाई दिन आफू तयार रहेको पनि बताएका थिए। 

ओली–गौतम छुट्टै भेट 
सचिवालय बैठकअघि प्रधानमन्त्रीले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका थिए । सचिवालय बैठक साढे ५ बजेका लागि सारेर उनले गौतमसँग छलफल गरेका थिए। ओलीले गौतमलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए। छलफलमा केही समय सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल पनि सँगै थिए। त्यसपछि ओली एक्लैले गौतमसँग कुरा गरेका थिए। ओलीले अहिलेको सरकारमा बसेर आफूलाई सहयोग गर्न गौतमलाई प्रस्ताव गरेका थिए। स्रोतका अनुसार गौतमले उपप्रधानमन्त्री हुन आफू तयार रहेको तर यसमा दाहाल, नेपाल र खनालको पनि सहमति रहनुपर्ने बताएका थिए। बालुवाटारमा ओली, थापा,  र पौडैलसँगको छलफलमा गौतमले यो विषय सचिवालय बैठकमा राख्नुपर्ने बताएका थिए।

 यसअघि बसेको सचिवालय बैठकमा दाहाललगायत बहुमत सदस्यले ओलीलाई प्रधानमन्त्री र र पार्टी अध्यक्षबाट राजीनामा दिन आग्रह गरेका थिए। सोही बैठकमा ओलीले कोरोना संकट टरेपछि आफूले सरकार छाड्ने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए। उनले पार्टीको तेस्रो अध्यक्ष बन्न नेपाललाई प्रस्ताव गरेका थिए। नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका थिए। 

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति भण्डारीसँग आधा घण्टा  छलफल गरी बालुवाटार फर्केलगत्तै ओलीले कार्यकारी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए। सबैसँग भेटवार्ता गरेपछि मात्र ओली सचिवालय बैठकमा सहभागी भएका छन्।

प्रकाशित: २१ वैशाख २०७७ ०१:३९ आइतबार

नेकपा_विवाद वामदेव_गौतम