राजनीति

कोरोनाविरुद्ध सर्वदलीय बैठक

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार सिंहदबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी सर्यदलिय बैठक। तस्बिर: रासस

काठमाडौं – राजनीतिक दलहरूले कोरोना विषाण देखिएका देशबाट आएका मानिसलाई कम्तीमा १४ दिन क्वारेनटाइनमा राख्न सरकारलाई सुझाव दिएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार सिंहदबारमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले मुलुकभित्र कोरोना संक्रमण फैलन नदिन यस्तो व्यवस्था गर्न सुझाव दिएका हुन्। उनीहरूले कोरोना भित्रिन नदिन र रोकथाममा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको तर सरकारले आधारभूत पूर्वतयारीसमेत नगरेको गुनासो गरेका थिए।

नेताहरूले कोरोना प्रभावित देशबाट हवाई मार्ग र स्थल मार्गबाट भित्रिने सबैको स्वास्थ्य जाँचको व्यवस्था गर्न सुझाव दिँदै कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्न सुझाएको जानकारी दिंदै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले भने, ‘स्थल मार्ग भएर आउने यात्रुको परीक्षण निकै फितलो छ। कतिपय सीमानाकामा त सरकारी संयन्त्रको उपस्थिति नै छैन।’

नेताहरूले मुलुकभित्र कोरोना संक्रमण फैलियो भने धेरैजना अस्पताल पुग्ने र त्यस्तो अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। चीनले जस्तो अहिले नै नेपालले अस्पताल निर्माण गर्न नसके पनि आइसियुको क्षमता वृद्धि गर्न सुझाएको जानकारी दिंदै थापाले भने, ‘अहिले भएका आइसियुको क्षमताले सामान्य अवस्थामा त धान्न सक्दैन भने संक्रमण भए अवस्था के होला।’

नेताहरूले एकद्वारा पद्धतिबाट मात्र कोरोनासम्बन्धी सूचना प्रवाह गर्ने व्यवस्था मिलउन पनि सुझाव दिएको बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी दिए। ‘कोरोना संक्रमण एउटा दल विशेष वा सरकारको विषय होइन,’ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले भने, ‘यो साझा समस्यालाई सामुहिरुपमै सामना गर्नुपर्छ।’ अस्पतालको क्षमता वृद्धि, औषधी, खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको पर्याप्त भण्डारण गर्न पनि दलका नेताले सुझाएका थिए। यादवले भने, ‘रोगका विषयमा त्रास बढी छ। तीन तहको सरकार कोरोनाविरुद्ध एउटै कार्यक्रम लिएर जानुपर्छ।’

रोगको त्रासले शिक्षा र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएको बताउँदै नेताहरुले सातै प्रदेश र स्थानीय तहसम्म सचेतना कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कोरोना संक्रमण भएका देशबाट आवतजावतमा रोक लगाउने, कोही संक्रमित आइहाले व्यवस्थापन कसरी गर्नेलगायत विषयमा छलफल भएको जानकारी दिंदै समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भने, ‘देशभित्र कसरी संक्रमण फैलन नदिने भन्नेमा सामूहिक चिन्ता र चासो देखिएको छ।’

बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, राजपाका नेता राजेन्द्र महतो, महन्थ ठाकुर, यादव तथा संघीय समाजवादी पार्टीका नेता श्रेष्ठ, प्रमुख प्रतिपक्षी कांग्रेसका नेता बालकृष्ण खाँण, थापलगायत सहभागी थिए। बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना र सरकारी तयारीका विषयमा जानकारी गराएका थिए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App