राजनीति

वामदेव आउने हल्लापछि मनोनित सांसदलाई छुट्टै सिट

काठमाडौ – राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने तीन सांसद्लाई छुट्टै सिटको व्यवस्था गरिएको छ। राष्ट्रियसभामा नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरेर ल्याउन खोजेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट मनोनित सांसदलाई नेकपाको सिटबाट मन्त्रिपछाडिको सिटमा बस्ने व्यवस्था गरेका हुन्। मनोनित सांसदलाई दुई वर्षदेखि नेकपाका सांसद्सँगै राखिदै आएको थियो। राष्ट्रपतिबाट मनोनित हुने सांसद पार्टीभन्दा पनि विज्ञतासँग सम्बन्धित हुने भएका कारण उनीहरुलाई नेकपाको सिटबाट स्वतन्त्र सिट प्रदान गर्नु उपयुक्त हुने भए पनि उनीहरूलाई नेकपाकै सांसदसँग राखिएको थियो। राष्ट्रियसभामा चालु पाँचौ अधिवेशन सुरु भएको दुई महिनापछि यो व्यवस्था गरिएको छ। चालु अधिवेशन पुस ४ गतेदेखि सुरु भएको थियो। फागुन २१ गते बसेको राष्ट्रियसभाको बैठकदेखि राष्ट्रपतिबाट मनोनित सांसदलाई स्वतन्त्र सिट प्रदान गरिएको छ राष्ट्रपतिबाट मनोनित सांसद डा.विमला राई पौडेलले बताइन्। उनले भनिन्, ‘नयाँ निर्वाचित सांसद् आएपछि हामीलाई मन्त्रीबस्ने सिट पछि राख्नुभयो।’ मनोनित सांसदमा रामनारायण बिडारी, विमला राई पौडेल, र डा. युवराज खतिवडा छन्। मनोनित सांसद खतिवडाको राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिए पनि उनी पुनः मन्त्रीमा नियुक्त भएकाले मन्त्रीकै सिटमा बस्दै आएका छन्। नेपालको संविानको धारा ८६ उपधारा २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले एक महिलासहित ३ जना नियुक्त गर्ने व्यवस्था छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०२:२२ बुधबार

वामदेव_गौतम राष्ट्रियसभा