राजनीति

समृद्धिका लागि सन्तुलित छिमेक नीति आवश्यक : प्रधानमन्त्री

काठामडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्। दुई ढुंगाबीचको तरुल बनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए।

समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए। दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भए पनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पर्धालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताएका छन्। अरुलाई आफूभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने,'अर्काको कापी च्यातेर आफु अगाडी हुने होइन। यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नती गर्छ। अरुको विगारेर आफु सप्रिने होइन। अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफु पनि सप्रिने बाटो हामीले लिनुपर्छ।’ देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आए पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिने बताए।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताएका छन्। दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तीव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उनले बताए।

शनिबार आफ्नो 'भिजन टु एक्सन' पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए। जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पुर्‍याउन सकिएन भने केही गर्न नसकिने बताए।

प्रकाशित: १० फाल्गुन २०७६ १२:४२ शनिबार

समृद्धि सन्तुलित_छिमेक_नीति