राजनीति

उपकुलपतिबारे चिकित्सक र कर्मचारीका दुई थरि मत

वीपी प्रतिष्ठानको उपकुलपतिको कार्यालय। तस्बिर: नागरिक

धरान - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ती प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीहरुमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस शुरु भएको छ। प्रतिष्ठानका प्राध्यापक, चिकित्सक र कार्यरत कर्मचारीहरु भित्रैबाट र बाहिरबाट उपकुलपति बनाउनुपर्ने भन्दै दुई ध्रुवमा बाँडिएका छन्। एक पक्ष प्रतिष्ठान भित्र योग्य, सक्षम र राम्रा प्राध्यापकहरु भएकोले उनीहरुमध्येबाट बनाउनुपर्ने माग गरिरहेका छन् भने अर्को पक्ष भित्रकै व्यक्ति उपकुलपति हुँदा विगतको दुई उपकुलपतिको कार्यकालमा जस्तो गुटबन्दी र खिचातानी मौलाउने भएकोले बाहिरबाटै योग्य व्यक्ति ल्याउनुपर्ने धारणा राख्छन्। उपकुलपति कस्तो आउला ? भनेर कर्मचारीहरुको छलफल र बैठक पनि बाक्लिाएको छ।

उपकुलपतिको लागि प्रतिष्ठानभित्रका झण्डै एक दर्जन प्राध्यापकहरुले पनि मन्त्रालयमा आवेदन दिएका छन्। मन्त्रालयले आवेदकहरुमध्ये १६ जनाको सुची तयार गरेको बताइए पनि नाम सार्वजनिक भएको छैन। तर, यता प्रतिष्ठानमा भने प्रतिष्ठानमा भने भित्रकै प्राध्यापक कि बाहिरको व्यक्ति नेतृत्वमा आउनु ठिक भन्ने वहस भइरहेको छ। प्रतिष्ठानभित्रैबाट उपकुलपति बनाउनपर्छ भन्नेहरु खुलेरै लागेका छन्। आवेदन दिनेहरु भित्रकै प्राध्यापकहरु पनि भएकोले बाहिरबाट बन्नुपर्छ भन्ने पक्ष भने मिडियासँग परिचय खुलाउन चाहदैनन्। आवेदकहरु छनौट समितिले सिफारिश गर्ने ३ जनाको नामभित्र आफु पर्न शक्ति केन्द्र धाइरहेका छन्। स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्री समक्ष सिफारिश गर्नेछ। प्रधानमन्त्रीले तीन जना मध्ये एकलाई उपकुलपति नियुक्त गर्नेछन्।

प्रतिष्ठानबाटै उपकुलपति बनाउनुपर्छ भन्ने पक्ष
प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षण कल्याण समाजले स्वास्थ्यमन्त्री तथा सिफारिश समितिका संयोजक भानुभक्त ढकाललाई माग पत्र पठाउदै प्रतिष्ठानभित्रकै योग्य व्यक्तिलाई उपकुलपति बनाउन माग गरिसकेको छ। ‘यहाँ तबल पनि कम छ, जीवनभर यही रिसर्च गछौं, पढाउछौं र सेवा पनि गछौं। यही नेतृत्व गर्न सक्ने समक्ष प्राध्यापकहरु पनि छन्,’समाजका अध्यक्ष डा.विष्णु पोखरेल भन्छन्,‘प्रतिष्ठान र यहाँको समस्यालाई राम्रारी बुझेको, समाधान गर्नसक्ने यहीको सक्षम र योग्य व्यक्ति छनेर उपकुलपति बनाउनुपर्छ।’ उनले विगतका केही नेतृत्व वदमास भए भन्दैमा सबैको क्षमता र योगदानलाई अवमुल्यन गर्न नहुने पनि बताए।

कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा पनि सकेसम्म प्रतिष्ठान भित्रैका योग्य व्यक्तिलाई उपकुलपति बनाउदा राम्रो हुने बताउँछन्। तर, सरकारले बाहिरका सक्षम र नेतृत्व गर्न सक्ने व्यक्तिलाई पठाएमा पनि आफुहरु स्वागत गर्ने उनको भनाई छ। ‘भित्रैबाट कार्यवाहक उपकुलपति प्रा. डा. गुरु खनाल, प्रा.डा. सञ्जिव शर्मा, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. पारस पोख्रेल, प्रा.डा.बिक्रम श्रेष्ठ, प्रा.डा.पशुपति चौधरीलगायत सरहरुले आवेदन दिनुभएको छ, सबै नै सक्षम र योग्य नै हुनुहुन्छ,’थापाले भने,‘उहाँहरुले संस्थालाई राम्ररी बुझ्नु भएको पनि छ, त्यसैले यहीको कोही एक बनाउदा राम्रो हुन्छ। तर, सरकारले बाहिरबाट योग्य पठाउदा पनि अस्वीकार गर्ने भन्ने हुदैन।’

प्रतिष्ठान बाहिरबाट उपकुलपति बनाउनुपर्छ भन्ने पक्ष
उपकुलपति प्रतिष्ठानभित्रबाटै बनाउनुपर्छ भन्ने पक्ष जति वलियो छ, त्यसको विपक्षमा पनि प्रतिष्ठानका प्राध्यापक, चिकित्सक र कर्मचारीहरु पनि छन्। तर, उपकुलपति बन्ने दौडमा प्रतिष्ठानकै दर्जन प्राध्यापकहरु भएकोले उनीहरु आफ्ठेरोमा परिने डरले खुलेर कुरा गर्न चाहदैनन्।

विगतमा दुई जना उपकुलपति भित्रकै प्राध्यापक हुँदा प्रतिष्ठानमा गुटबन्दी, द्धन्द र खिचातानी मौलाएर संस्थको साख ओरालो लागेकोले बाहिरबाटै नियुक्ती गर्नुपर्ने यो पक्षको भनाई छ। ‘हामीले भित्रको २ जना भिसि हेर्यौ, त्यसैले हाम्रो भन्ने होइन, राम्रो भिसि आउनुपर्छ भन्ने हो,’ती प्राध्यापक भन्छन्,‘प्रतिष्ठानलाई भारतको एम्स जस्तो बनाउने कि जनकपुर चुरोट कारखाना जस्तो बनाउने ? एम्स बनाउने हो भने भित्र होस वा बाहिरको होस्, सक्षम, दीर्घकालिन भिजन भएको, सबैलाई समेटेर नेतृत्व गर्ने व्यक्ति आउनुपर्छ।’

अहिले केही २, ४ जना व्यक्तिहरुले आफ्नो स्वार्थको लागि मात्र भित्रको उपकुलपति बन्नुपर्छ भनेर लागिपरेको उनको ठम्याई छ। भित्रबाटै उपकुलपति बनाउदा पुनः गुटबन्दी शुरु हुने र आग्रह, पुर्वाग्रह भएर काम गर्ने भएकोले संस्था झन् धारासायी हुने उनको तर्क छ। विगतमा पनि प्रतिष्ठानको ४ पदाधिकारी मिल्न नसक्दा प्रतिष्ठान लथालिङ भएको थियो। ‘डायनामिक नेतृत्व आएन भने, नियमित काम गरेर मात्र केही हुदैन, संस्था थला पर्छ,’उनी भन्छन्।

कर्मचारी कल्याण समाजका अध्यक्ष थापा पनि विगतमा प्रतिष्ठानको २ जना उपकुलपति हुँदा धेरै विवाद र आन्तरिक द्धन्द, गुटबन्दीले प्रसय पाएको स्मरण गर्छन्। अहिले पनि भित्रैबाट उपकुलपति बनाउदा पुनः गुटबन्दी शुरु हुने जोखिम भएको पनि उनी स्वीकार गर्छन्। ‘पहिला बाहिरबाट उपकुलपति आउदाको अवस्था के थियो, र भित्रकै २ जना हुँदा प्रतिष्ठानको हालत के भयो ? त्यसैले बाहिरबाट आउनै हुदैन भन्ने होइन, यहाँबाट पनि अन्यत्र पदाधिकारी भएर गएका छन्,’उनी भन्छन्,‘भित्रको जो बनाए पनि चरम गुटबन्दी हुने खतरा चै छ, तर नेतृत्वमा आउनेले र अरु प्राध्यापकहरुले पनि उदारता देखाउने हो भने, सहकार्य गर्ने हो भने भित्रबाटै उपकुलपति बन्दा राम्रो चै हुन्छ।’

प्रकाशित: १९ माघ २०७६ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App